कोटेश्वरमा टिपरले मोटरसाइकललाई ठक्कर दियो, पछाडि बसेका व्यक्तिको मृत्यु

काठमाडौं । काठमाडौंमा पिरले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय झनकबहादुर थापा मगरको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.५ ख ३४३७ नम्बरको टिपरले बागमती प्रदेश–०२–०२६ प २१२१ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाइकलमा सवार दोलखाको शैलुङ्ग गाउँपालिका–२ घर भई काठमाडौंको कोटेश्वर बस्ने मगरको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित १२ नम्बर नजिक भित्री सडकमा लु.१० प ४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक बुटवल उप–महानरपालिका–१८ पोखरावारी बस्ने २५ वर्षीय सोहन कुमालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

यता, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ टिमुरे गैरास्थित सडकमा रा.४ त ४२९५ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक प्यूठान ऐरावती गाउँपालिका–१ कोल्बोट बस्ने २७ वर्षीय कमल सोमै मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो ।

अन्य २ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता, कैलालीको धनगढी उप–महानगरपालिका–१७ धुर्जन्नास्थित सडकमा से.७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय धनीराम चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Published : Wednesday, 2023 June 14, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया