सरकार ढाल्ने धम्कीसहित माधव नेपाल बुरुक्क, बालुवाटारमा दिनभरि हल्लिखल्ली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । बैठकमा सत्तारुढ दलका अन्य नेताहरूको पनि उपस्थिति रहेको थियो ।

मंगलबार बालुवाटारमा दाहालले देउवा र नेपालसँग पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श गरेका हुन् । तीन शीर्ष नेताबीच संसदमा छलफलमा रहेको बजेटलाई समयमा पारित गर्ने विषयमा पनि सहमति बनेको बुझिएको छ ।

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले बजेटसहित अहिले पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालसहितका नेताहरूले बजेटमा असन्तुष्टि राखेको श्रेष्ठले बताए ।

‘बजेट पास गरेर असन्तुष्टिका विषयलाई सम्बोधन गरेर जाने कुरा भएको छ’, श्रेष्ठले भने, ‘उहाँहरूले पनि आफ्नो कुरा राख्नुभयो। प्रधानमन्त्रीले पनि आफ्नो कुरा राख्नुभयो ।’

प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बजेट पारित नहुँदै केही शीर्षकमा मिलाउन सकिन्छ कि भनेर छलफल भएको बताए ।

कम बजेट परेका क्षेत्रमा थप्ने, बढी भएका क्षेत्रमा घटाउने विषयमा नेताहरूबीच सहमति भएको गजुरेलले बताएका छन् ।

अध्यक्ष नेपालले बजेटलाई लिएर सरकार संकटमा पर्नेसम्मको धम्की दिएका थिए । नेपालले आफूले भनेअनुसार बजेट नपरेको भनेर असन्तुष्टि जनाएका छन् ।

Published : Tuesday, 2023 June 13, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया