एयरपोर्टमा सुनसहित मान्छे पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई सुनसहित पक्राउ गरेको छ ।

विमानस्थलको आगमन टनेल गेटबाट सुन जस्तो देखिने पहेंलो धातु करिब ९९ ग्रामसहित काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–८ स्थायी वतन भएका ३३ वर्षीय तीर्थप्रसाद गौतमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका गौतमलाई विमानस्थल सुरक्षा कार्यालय, गौचरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

गौतमलाई चेकजाँच गर्दा अवैध रुपमा लुकाइछिपाइ भन्सार छली लैजान लागेको सुनसहित फेला पारी पक्राउ गरिएको थियो ।

गौतमलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

Published : Monday, 2023 June 12, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया