ज्ञानबहादुरले प्रधानमन्त्रीविरुद्ध निकै अराजनीतिक हर्कत देखाए, घिमिरेको भूमिका शंकास्पद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अदालतमा विचाराधीन विषय प्रतिनिधि सभाको बैठकमा उठाएर संसदको गरिमामाथि ठेस पुर्‍याएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरू आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सहभागी भइरहेका बेला बीचमा उभिएर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग मागेका हुन् ।

राप्रपाका सांसद शाहीले बोलेर सकेपछि माओवादी केन्द्रका सांसद माधव सापकोटाले आपत्ति जनाएका थिए । सापकोटाले शाहीले कुन धारा र व्यवस्थाअनुसार प्रधानमन्त्री दाहालविरुद्ध गैरराजनीतिक आक्षेप लगाएको भनेर प्रश्न गर्दै शाहीका अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

तर, सभामुख देवराज घिमिरेले सांसदहरूले दिएको अभिव्यक्तिका विषयमा ध्यानाकर्षण भएको भन्दै हल्का रुपमा लिए । यसअघि केही दिन अगाडि दोहोरो नागरिकता र राहदानी बोकेको भनेर संसदको रोष्टमबाट नेपाली कांग्रेसका सांसद अजय चौरसिया बोल्दै गर्दा रास्वपाका सांसद तथा सभापति रवि लामिछानेले अदालतमा विचाराधीन विषयमा बोलेको भनेर आपत्ति जनाएका थिए । लामिछानेको आपत्तिपछि सभामुख घिमिरेले रुलिङ गरेका थिए । तर, घिमिरेले आज माओवादीका सांसदले उठाएको कुराको सुनुवाइ नै गरेनन् ।

एमालेका सांसद समेत रहेका घिमिरेले संसदमा भेदभावपूर्ण कार्य गरेका छन् । घिमिरेका हर्कत र गतिविधि सरकारविरोधी भइरहेका आरोप लागेका बेला राप्रपाका सांसद शाहीको बचाउ गरेका छन् ।

सांसद शाहीले प्रचण्डको बिरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरेका छन् ।

उनले भने, ‘प्रतिनिधि सभा नियमावली २०६९ को नियम ३६ अन्तर्गत सम्माननीय प्रधानमन्त्रीज्यु यो संसदको सदस्य पनि हो । तर आज सम्माननीय प्रधानमन्त्रीज्यूको बिरुद्धमा सम्मानित सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ, र सर्वोच्च अदालतले ३० गते सम्माननीय प्रधानमन्त्रीज्यूलाई अदालतमा हाजिर हुन भनेर पर्चा काटिसकेको छ ।’

उनले भने, ‘म सम्माननीय सभामुखमार्फत सोध्न चाहन्छु, यो ३० गते प्रधानमन्त्रीज्यू अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि, पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ ?’

राप्रपाका सांसद शाहीले आफूलाई निकै सुपर सांसदका रुपमा उभ्याउने गरेका छन् । विभिन्न काण्ड लागेपछि राजनीतिक संरक्षणका लागि राप्रपामा प्रवेश गरेका शाहीले प्रधानमन्त्री दाहालविरुद्ध जथाभावी बोल्दै आएका छन् । शाहीका आरोप र आक्षेपहरू निकै गैरराजनीतिक हुने गरेको टिप्पणी हुने गरेको छ ।

Published : Sunday, 2023 June 11, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया