ओलीको पालामा कि हरायो दश किलो सुन ? कांग्रेसका खतिवडाको प्रस्तावले बालकोटमा बबाल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले मुलुक भ्रष्टाचारबाट व्याप्त भएको भन्दै यसको लागि सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा खतिवडाले भने, ‘हामीलाई पनि लागेको छ, भ्रष्टाचार भनेको मेरो र तेरो भनेर छुट्याउने कुरा होइन ।’

उनले भने, ‘यो लेनदेनमात्रै होइन, यो आचरणको पनि कुरा हो । चर्चामा आएका कुराहरू जो छन्, नक्कली भुटानी शरणार्थी प्रकरणकै कुरा छ, नेपाली कांग्रेसले निश्पक्ष छानबिनको लागि अनुरोध गरेको छ । हाम्रो प्रष्ट मान्यता के हो भने–कोही निर्दोष फस्नुहुँदैन अनि दोषी उम्कनुहुँदैन् ।’

खतिवडाले कसैले पोलेकै आधारमा मान्छे समात्ने हो भने धेरै जनाको नाम बाहिर आएको बताएका छन् ।

उनले भने, ‘यो प्रकरणमा मैले पनि धेरैको नाम सनुेको छु, केपी ओलीको पिएको नाम आएको छ । बादल दम्पत्तिको नाम आएको छ । अख्तियार प्रमुख प्रेमकुमार राईको पनि नाम चर्चामा छ । म भन्न चाहन्छु की प्रहरी कसैको दबाबमा नपरोस् । यो प्रकरणमा प्रहरीलाई म गहनताका साथ छानबिन गर्न अनुरोध गर्दछु । हद म्यादका कारण कोही अपराधी नउम्किनु ।’

उनले यति, ओम्नी, बालुवाटार प्रकरणलगायत सबैमा गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन् । ‘प्रधानमन्त्री होस वा उप–प्रधानमन्त्री होस, बालुवाटारको जग्गा लिएर फिर्ता गर्दैमा अपराधी हुँदैन भन्न सकिन्छ र ?’, उनले भनेका छन् ।

उनले भने, ‘जनताले युवा पुस्तासँग आश गरेका छन् । राजनीतिमा आउँदा खासगरी पार्लियोमेन्टमा बोल्दा एउटा कुरा, अनि टिभीमा अर्को कुरा गर्ने, जनतासँग जाँदा एउटा अनि नेतासँग अर्को कुरा गर्ने गरेको पनि पाइयो । यो कुरा जनताले नजिकबाट नियालिरहेका छन् ।’

प्रतिनिधि सभाका सांसद समेत रहेका खतिवडाले भने, ‘अहिले कोर टिमका कुरा पनि आएका छन् । त्यसबारेमा पनि छानबिन हुनुपर्छ । राष्ट्रिय परिचयपत्रको कुरा आएको छ, तत्कालिन गृहमन्त्रीले टेण्डर गरे, अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यो टेण्डर रद्द गरेको कुरा छ । उहाँले त्यो टेण्डर किन रद्द गर्नुभयो भन्नेबारे जनतालाई यथार्थ जानकारी गराउनुपर्छ ।’

खतिवडाले १० किलो सुन बेपत्ता भएको छ भनिएको विषयलाई पनि छानबिनको माग गरेका छन् ।

‘दश किलो सुन खोज्ने सबैको दायित्व हो । यो बास्तवमा छानबिन हुने विषय हो । पशुपतिजस्तो सबैले मान्ने र पूज्य ठाउँमा ७ करोडको १० किलोको सुन हराउँछ ? भने मुलुक कहाँ होला ?’ उनले भनेका छन् ।

सत्ता पक्ष र प्रतिपक्ष बसेर तार्किक निश्कर्षमा पुगाउने होला भन्ने विश्वास लिएपनि संसदको रेकर्डबाट हटाउनु दु:खद् रहेको उनले बताएका छन् ।

खतिवडाको यो प्रस्ताव र दश किलो सुन काण्डसहितका काण्डबारे छानविनको कुरा उठाएपछि बालकोटमा बसेका एमालेका अध्यक्ष ओलीलाई तनाब हुन सक्छ ।

Published : Sunday, 2023 June 11, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया