भारत भ्रमणबारे प्रधानमन्त्री दाहालद्वारा संसदलाई जानकारी, खोजी भएपछि ओली आइपुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका विषयमा संसदलाई जानकारी गराएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे भएका सहमति, सम्झौता र निर्णयहरूका बारेमा जानकारी गराएका हुन् । दाहालले आफ्नो भारत भ्रमण निकै फलदायी रहेको जनाएका छन् ।

प्रधानमन्त्री दाहालले नेपाल–भारत सिमानामा बाढी र डुबानको समस्याका बारेमा कुरा भएको बताए । उनले बाढी र डुबानको समस्या समाधान गर्न आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले सीमासम्बन्धी विवादलाई समाधान गर्न आफूले कुरा उठाएको बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनका क्रममा सिमाना विवादका विषयमा पहिलो पटक बोलेको दाहालले बताएका छन् ।

बैठक शुरु हुनेवित्तिकै एमाले, रास्वपा, राप्रपाका सांसदहरू आफ्नो सिटमा उभिएर बोल्न समय माग गरेका थिए । सभामुख देवराज घिमिरेले एमालेका सांसद योगेश भट्टराईलाई बोल्न समय दिएका थिए ।

प्रधानमन्त्री दाहालले रोष्टमबाट बोल्ने क्रममा प्रमुख प्रतिपक्ष दलको नेतालाई नदेखेको भनेर व्याङ्ग्य गरेका थिए । त्यस लगत्तै ओली बैठकमा प्रवेश गरेका थिए । प्रधानमन्त्री दाहालले आफूलाई खोजेको सूचना पाएपछि ओली हाँसेका थिए ।

Published : Monday, 2023 June 5, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया