ओलीका झुठहरूको रामहरिले बुँदा-बुँदामा जवाफ दिए, एमाले बोल्नै सकेन, कांग्रेस-माओवादीहरू खुसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले ल्याएको नीति तथा कार्यक्रमको समर्थन गर्दै गाउँमा धारा र बिजुली पुर्‍याउने कार्य निकै राम्रो भएको बताए ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै खतिवडाले प्रमुख प्रतिपक्ष दलको नेताले अर्कै नीति तथा कार्यक्रममा संसदमा पेश गर्ने चेष्टा गरेको टिप्पणी गरेका छन् । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले जस्तो अहिलेको सरकारले हावादारी नीति तथा कार्यक्रम नल्याएको खतिवडाले बताएका छन् ।
ओलीले संसदमा पट्यार लाग्ने लामो सम्बोधन गरेकोमा आलोचना गर्दै खतिवडाले तत्कालीन ओली सरकारको भन्दा अहिलेको नीति कार्यक्रम निकै वास्तविक रहेको बताए ।

उनले भने, ‘प्रमुख प्रतिपक्ष दलको नेता हिजो प्रस्तुत हुनुभयो । राष्ट्रपतिभन्दा अलिकति बढि समय मैले पढ्नुपर्छ, अर्कै नीति कार्यक्रम ल्याउनुपर्छ जस्तो भान गरेर अझ लामो समय लिएर अर्को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने चेष्टा गर्नुभयो ।’

‘नीति तथा कार्यक्रम सरकारले एउटा ल्याउँछ । त्यसलाई समर्थन र विरोध गर्ने अर्को हुन्छ । हामीले यस्ता नीति तथा कार्यक्रमलाई धेरै समयदेखि हेरेका छौँ । हामीले धेरै कुरा पनि देखेका छौँ’, कांग्रेसका सांसद खतिवडाले भनेका छन् ।

‘मेलम्चीको उद्घाटन गर्न आफै कुदनेदेखि राष्ट्रपतिलाई लिएर जानेदेखि धरहराको उदघाटन गर्न गएकोसम्म देखियो । बोलेका कुराहरू पनि हेरें । २०७६ को नीति तथा कार्यक्रम पनि ल्याएको छु । २०७७ को पनि ल्याएको छु । २०७८ को नीति तथा कार्यक्रम पनि ल्याएको छु’, उनले भनेका छन् ।

‘मलाई असाध्यै रमाइलो लाग्यो । २०७६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गर्नुभएको रहेछ । बुँदा नं. ७२ मा बारीका पाटा, गरा र खेतमा सधैँ हुन्छन् हराभरा । आज चार वर्ष भयो मैले ती हराभरा कतै देख्न पाइँन’, उनले भनेका छन् ।

‘मेरो सरकार भन्ने त्यस बेला राष्ट्रपति ज्यूले झण्डै ५८ ठाउँमा प्रयोग गर्नुभएको रहेछ । अहिलेको राष्ट्रपतिले, अहिलेको सरकारले मेरो सरकार भनेन, त्यसैले यो नीति तथा कार्यक्रम अपूरो भयो होला, अधुरो भयो होला, पुनर्लेखन गर्नुपर्ने जरुरी भयो होला । पुनर्लेखन होइन लेखन नै हुन्छ । तर, अर्को वर्ष लेखन हुन्छ’, खतिवडाले भनेका छन् ।

‘चर्चा चल्यो बाघले घाँस खाँदैन भनेर । हामी घाँस खान पनि दिँदैनौँ । घाँस खाने अवस्था कसैको पनि नआओस् बाघको पनि नओस्, मान्छेको पनि नआसोस्’, उनले भनेका छन् ।

उनले भने, ‘शरणार्थीको कुराका बारेमा चर्चा चल्यो । म्याउ…म्याउ…भन्ने शब्द सदनमा धेरै प्रचलनमा आयो । मैले प्रयोग गरेको थिएँ । मैले कुनै प्रधानमन्त्री, कुनै उप–प्रधानमन्त्री कसैलाई ईण्डिकेट गरेको होइन । तर, एउटा चलन छ । कसैलाई खुट्टाकाट भन्दा जसले बदमासी गर्‍यो त्यसले पहिला खुट्टा झिक्छ । त्यो परम्परा सदनमा विकासित नहोस् । जसले अपरोध गरेको छ त्यो परोस् । जो निर्दोष छ त्यो नपरोस् ।’

खतिवडाले भने, ‘भ्रष्टाचारको चर्चा चल्यो । कोभिडका बेला ओम्नीसहितका काण्ड, वाइडबडी भएका काण्ड, यतीका काण्ड र ती भ्रष्टाचारका कुराहरू देखेका छौँ ।’

उनले भने, ‘५ रुपियाँको मास्कलाई ५७ रुपियाँ खर्च गरेर आर्मीलाई दिएको हामीले देखेका छौं ।’

‘हामीले अहिलेको नीति तथा कार्यक्रममा गाउँगाउँमा धारा पुर्‍यौँ छौँ भनेका छौँ । रेल पुर्‍याउँछौँ भनेका छैनौँ । पानी जहाज पुर्‍याउँछौँ भनेका छैनौँ’, उनले भनेका छन् ।

‘हाम्रो लक्ष्य रेल, पानी जहाज र ग्यासको पाइप पुर्‍याउने होइन । जे गर्न सक्छौँ त्यो कुरा उल्लेख गर्ने हो’, खतिवडाले भने, ‘कतिपय कुरा छुटेका हुन सक्छन् । छुटेका कुरालाई बजेटमा राखेर ल्याइनेछ ।’

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खतिवडाले भने, ‘राष्ट्रपति आउँदा शिक्षक, विद्यार्थी, डाक्टरहरूले पिसाब फेर्न जान नपाउने पद्दतिको अन्त्य गरेका छौँ । डाक्टरहरूले कुटाइ खाने पद्दतिको अन्त्य गरेका छौँ । बिरामीले सहज रुपमा उपचार गर्ने वातारणको सिर्जना गरेका छौं ।’

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सवारीका क्रममा बाटो अबरोध गर्न दिएका छैनन् । सर्वसाधारणहरू सरह गाडीबाट हिँड्ने गरेका छन् । पौडेलले विद्यादेवी भण्डारीले जस्तो राष्ट्रपतिको नाममा जनतालाई दु:ख दिएका छैनन् ।

‘मलाई बडो रमाइलो लाग्यो । २०७८ को नीति तथा कार्यक्रममा २४९ नं. बुँदामा शुसाना, प्रबर्द्धन तथा भ्रष्टाचार नियन्त्रण गर्न सरकारी, गैरसरकारी, निजी क्षेत्रमा सदाचार प्रणाली विकास गरिनेछ’, उनले भने, ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न, म देश र जनताको लागि इमान्दार भएर काम गर्छु भनेर उल्लेख गरिएको रहेछ ।’

उनले भने, ‘ट्रान्सपरेन्सी ईन्टरनेश्नलको रिपोर्टमा सबैभन्दा बढि भ्रष्टाचार त्यही वर्षमा भएको रहेछ । त्यही सरकारको पाला (केपी ओली प्रधानमन्त्री र विद्यादेवी भण्डारी राष्ट्रपति)मा भएको उल्लख छ ।’

‘बालुवाटार प्रकरणका कुरा आए । के जग्गा लिएर जग्गा फिर्ता गर्दा भ्रष्टाचार अन्त्य भयो ? हामीले खोजेको अन्त्य यही हो ? अनि मेरै साथीहरू, मेरै मित्रहरू उ त्यहिँ छन् भनेर देखाउँदा एउटा औँलाले त्यता देखाएर अरु चार वटा औँलाले आफैतिर फर्केको याद हुन्छ कि हुँदैन ?’, ओलीलाई खतिवडाको प्रश्न छ ।

उनले भने, ‘२०७८ को नीति तथा कार्यक्रममा आगामी वर्ष रसुवादेखि वीरगञ्जसम्म रेलमार्गको निर्माण कार्यको प्रारम्भ गरिनेछ । त्यो आगामी वर्ष भनेको २०७८ हो वा २०८१ मा हुन्छ कि ? २०८२ मा हुन्छ ? ओली सरकारले जस्तो झुठ्ठा नीति तथा कार्यक्रम अहिलेको सरकारले ल्याएको छैन ।’

खतिवडाले भने, ‘प्रधानमन्त्री (केपी ओली) बनेका बेला प्राइभेट एयरलाईन्सको जहाज लिएर जानेले राष्ट्रियताको कुरा गरेर फेरि सदनलाई ढाँट्ने कामको अन्त्य गर्नुपर्छ ।’

‘प्रधानमन्त्री (ओली) बेलायत र फ्रान्स भ्रमणमा जाँदा त्यहाँका उप–प्रधानमन्त्रीले समेत भेट नदिएर लुरुलुरु फर्केर आएको देखेका छौँ’, खतिवडाले भनेका छन् ।

‘मुलुक बनाउने बाटोमा अहिलेको गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम हिच्किहाट नगरी, मनमा कुण्ठा नराखेर समर्थन गर्नुस् । त्यसमा सबैको भलो हुन्छ’, उनले भनेका छन् ।

कांग्रेसका सांसद खतिवडाले ओखलढुंगाको दुधकोशी हाइड्याम प्रोजेक्टलाई नीति तथा कार्यक्रमले छुटाएको भन्दै चिन्ता जनाएका छन् ।

उनले भने, ‘दुधकोशी हाइड्याम प्रोजेक्ट यो देशकै ठूलो प्रोजेक्ट हो । ६३५ मेगावाटको हाइड्रो पावर हो । झण्डै २० किलोमिटरको ड्याम बन्छ । ठूलो पोखरी बन्नेछ । त्यसलाई ‘पी वान’ प्रोजेक्टका रुपमा अगाडि बढाएर बजेटमा उल्लेख गर्नुपर्छ ।’

Published : Tuesday, 2023 May 23, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया