अर्थतन्त्र सुधारमा अर्थमन्त्री डा.महतको निकै राम्रो काम, आलोचकहरूले आलोचना गर्ने ठाउँ पाएनन्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वैदेशिक ऋणले नेपालको अर्थतन्त्रलाई सहयोग गरेको छ वा छैन त्यो विषयमा बिचार गर्नुपर्ने समय आएको बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको अर्थ समितिमा बोल्ने क्रममा डा.महतले प्रश्न गर्दै वैदेशिक ऋणले हाम्रो अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन ? यसको समीक्षा हुन जरुरी रहेको बताए ।

वैदेशिक ऋणका सन्दर्भमा समीक्षा गरेर आवश्यकताअनुसार ऋण ल्याउन पनि आजको भोलि नै सम्भव नभएको डा.महतले बताएका छन् ।

‘यसको पनि सीमा छ, योसँगै हामीले खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता छ, हाम्रो साँवा र ब्याज एकदमै बढ्दै गएको छ’, उनले भने, ‘भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइसकेको छैन, ऋण भुक्तानीमा हामीले ध्यान केन्द्रित गर्न थाल्यौ भने साधारण र पुँजीगत खर्चमा दबाब सिर्जना हुन्छ ।’

अर्थमन्त्री डा.महतले नेपाली उद्योगी व्यवसायीलाई ‘प्रमोट’ गर्नेजस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने र बढीभन्दा बढी नेपाली उद्योग तथा व्यवसायलाई प्रवर्द्धन गर्ने नीतिमा क्रियाशील रहने बताएका छन् ।

अर्थमन्त्री डा महतले भने, ‘ज्ञानलाई सम्पूर्णरुपमा उपयोग गरेर ‘सिस्टम’मा भएको समस्यालाई धकेल्ने हो, समस्यालाई कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार हुनुहुन्छ ।’

डा.महतले भने, ‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन । हामी नेपालमै अवसर सिर्जना गर्दै लैजाने हो ।’

‘यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन, युवाको क्षमता छ’, उनले भने, ‘देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौँ ।’

डा.महतले देशभित्र उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

‘नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडसिन कम छ’, उनले भने, ‘हामी चाहन्छौँ, यो भ्यालु एडिसन ज्यादाभन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ ।’

अर्थमन्त्री डा.महतले अर्थतन्त्रको सुधारका लागि आफ्नो ज्ञान र अनुभवलाई उपयोग गर्ने, ठूलो स्वरमा कुरा नगर्ने बताएका छन् ।
‘सुधारको आवश्यकता छ, यसलाई इमान्दारिका साथ काम गर्छु’, उनले भने, ‘दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिनँ ।’

डा.महतले भने, ‘अवश्य पनि नीति कार्यक्रममा क्रमश: सुधार गरिने छन्, धेरैजसो यसपाली गरिनेछ, कतिपय कुरा क्रमश: गरिँदै लगिनेछ ।’

विकास निर्माणको काम र योजनामा कार्यान्वयनमा नै मूल चुनौती देखिएको जनाउँदै उनले आर्थिक वर्षको नौ महिनापछि स्रोत उपलब्ध गराइदिनुपर्‍यो भनेर आउने प्रवृत्तिलाई निरूत्साहित गरिएको बताएका छन् ।

‘पुँजीगत खर्च, राजस्व परिचालनले गुणस्तरीय उत्पादन हुन्छ कि हुँदैन भन्नेमा मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ’, उनले भने, ‘मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु, सिस्टमबाट आएका कुरा ठीक छन कि छैनन् भनेर सबै कुरा दिनरात हेरिरहेको छु ।’

‘यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन, यहाँ देश र जनताको कुरा छ, म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु’, डा.महतले भनेका छन् ।

राजस्व घटेको स्थानमा आफूले हेरिरहेको अर्थमन्त्री डा.महतले बताएका छन् । उनले भने, ‘अहिले राजस्व कम उठ्यो, त्यही आधारबाट माथि उठेर हामीले कामको सुरुवात गरेका छौँ, त्यसलाई हामी सुधार गर्छौं ।’

‘यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन’, अर्थमन्त्री डा.महतले भनेका छन् ।

उनले आफ्नो क्षमता र योग्यताले भ्याएसम्म प्रणालीमा देखिएको समस्या समाधान गर्न प्रयत्नरत रहने बताए । उनले अवरोध पन्छ्याउँदै स्पष्ट मार्गचित्र कोर्न इमान्दार र समर्पणका साथ काम गर्दै जाने बताएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा.महतले मुलुकको अर्थततन्त्र सुधार गर्न निकै मेहनत गरिरहेका छन् । उनले विज्ञ टोली नै बनाएर सुझाव लिने र दिने कार्यहरू गरिरहेका छन् । राजनीतिक दलको नेताभन्दा पनि मुलुकको अर्थतन्त्रतमा केन्द्रित रहेर काम गरेका कारण डा.महतप्रति आशा जागेको छ ।

सरकारको नीति तथा कार्यक्रम पनि निकै राम्रो आएको छ । आलोचक र विपक्षी दलहरूले पनि खुलेर आलोचना गर्न सकिरहेका छैनन् ।

Published : Sunday, 2023 May 21, 9:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया