नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइलेबलका थप दुई जना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार काठमाडौंबाट पक्राउ पर्नेहरूमा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल र माओवादी केन्द्रका नेता तथा नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँ रहेका छन् । उनीहरू दुबैको संलग्नता भेटिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि बिहीबार भुटानी शरणार्थी नेता रिजाल र नेपाल हज समितिका अध्यक्ष मियाँलाई थुनामा राख्न अनुमति दिएको छ ।

अदालतले अनुसन्धानका लागि दुई दिन थुनामा राख्न अनुमति दिएको हो । रिजाललाई झापाबाट काठमाडौं आउने क्रममा प्रहरीले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

मियाँलाई सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट प्रहरीले पक्राउ गरेको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा यसअघि प्रहरीले १४ जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेकाहरूसँग प्रहरीले उनीहरूसँग बयान पनि लिइसकेको छ । केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छैन ।

Published : Thursday, 2023 May 18, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया