नक्कली अडियोबारे डा.आरज राणाको निवेदन कार्यान्वयन गर्न नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएर आएको नक्कली अडियोमाथि छानविन हुन नसक्नु दु:खद् रहेको जनाएको छ ।

मंगलबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गरेर नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यमहरूले डा.राणाविरुद्ध प्रेषित समाचारप्रति पनि चिन्ता जनाएका छन् ।

‘लोकतन्त्रको गरिमा बढाउने दायित्व राजनीतिक दलको मात्रै होइन’, अध्यक्ष शेर्पाले भनेका छन्, ‘राज्यको चौथो अंगको रुपमा सम्मानित सञ्चारमाध्यमको भूमिका त अझ बढि हुने गर्छ ।’

उनले भने, ‘पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर प्रेषित निराधार र अपुष्ट सूचनाका आधारमा प्रेषित खबरले भने सञ्चारमाध्यमकै विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको छ ।’

‘कांग्रेस नेतृ डा.आरजु राणाजीको नाम जोडिएर आएको नक्कली अडियो छानविनको लागि उहाँले दिनुभएको उजुरमाथि छानविन हुन नसक्नु दु:खद् छ’, शेर्पाले भनेका छन्, ‘तत्काल सो अडियोको छानविन गरि सत्यतथ्य सार्वजनिक गर्न पनि नेविसंघ प्रशासनसँग जोडदार माग गर्दछ ।’

नेविसंघका अध्यक्ष शेर्पाले भने, ‘देशकै इज्जतमाथि प्रश्न उठाउने गरि भएको नक्कली शरणार्थी प्रकरणमा सत्य सूचना थाहा पाउनु नागरिकको अधिकार हो ।’

‘नागरिकको सो अधिकारको सम्मान गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरि नागरिकलाई झुटा अफवाह र गलत सूचनाबाट दीग्भ्रमित हुनबाट रोक्नका लागि सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बनाउन आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनका प्रहरी प्रमुख (एसएसपी) मनोजकुमार केसीले हतार गरेर आफू निकटका केही सञ्चारमाध्यमलाई समाचार दिएको आरोप लाग्दै आएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई पक्राउ गर्ने अधिकार पाएका एसएसपी केसीका कामकारबाहीप्रति समेत हेडक्वाटरले प्रश्न उठाएको छ ।

पूर्वउप–प्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अपराध कार्यालयले पक्राउ गर्न नसकेपछि आईजीपी बसन्तबहादुर कुँवरले विशेष टोली नै खटाउनु परेको थियो ।

आईजीपीको आदेशपछि सीआईबीको टोलीले आङ्टावा शेर्पालाई कसैले थाहा नपाउने गरि दोलखाबाट पक्राउ गरेर ल्याएको थियो ।

Published : Wednesday, 2023 May 17, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया