धेरै बदनाम गराउन थालेपछि नक्कली भुटानी शरणार्थी प्ररकणमा पहिलो पटक बोल्यो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भएको भन्दै चिन्ता गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर डा.महतले नक्कली भुटानी शरणार्थी प्रकरणबारे मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको बताए । उनले नक्कली शरणार्थी प्रकरण गम्भीर विषय भएकाले पार्टीले गम्भीर रूपमा लिएको बताएका छन् ।

उनले घटनाको अनुसन्धान जारी रहे पनि मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको बताएका छन् । डा.महतले भने, ‘को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा भएन । मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको छ ।’

‘आरजु राणाको केसमा उहाँले प्रमाणित होस भनेर उजुरी गर्नुभएको छ’, डा.महतले भने, ‘तर अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषी हो भनेर व्यवहार भइरहेको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अडियो झुटो हो भन्ने विश्वास छ ।’

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफू निर्दोष छु, साबित गर्छु भनेको डा.महतले बताएका छन् ।

घटनाको अनुसन्धान जारी रहेकाले निर्दोष नफसून्, दोषी नउम्किऊन् भन्ने पक्षमा पार्टी रहेको प्रवक्ता डा.महतले बताएका छन् ।
खाणले निर्दोष साबित गर्छु भनेकाले पार्टीले कारबाही नगरेको डा.महतले बताएका छन् ।

उनले भने, ‘आरोपित व्यक्तिमा पार्टीका बालकृष्ण खाँण पनि हुनुहुन्छ । अनुसन्धान जारी छ । निष्कर्ष आइसकेको छैन ।’

‘उहाँले निर्दोष छु साबित गर्छु भन्नुभएको छ । अनुसन्धान निष्पक्ष हुनुपर्‍यो । त्यसमा पूर्ण सहयोग गर्छौं’, डा.महतले भने, ‘दोषी नउम्किऊन्, निर्दोष नफसून्’ भन्ने हाम्रो मान्यता हो ।’

‘त्यो प्रकरणमा जोडिएका उहाँहरूले निर्दोष साबित गर्छु भनेपछि पार्टीले कारबाही गर्ने कुरामा निष्कर्षमा नपुगेको हो’, उनले भनेका छन् ।

डा.महतले पार्टीको बैठकमा महामन्त्रीहरूले कुनै पनि असन्तुष्टि नराखेको पनि बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकणबारे अनुसन्धान परिपक्क र स्वतन्त्र हुनुपर्ने बताउँदै प्रवक्ता डा.महतले त्यसमा कांग्रेसले पनि सहयोग गर्ने बताएका छन् ।

गिरोहसँग लेनदेन गरेको आरोप लागेपछि खाणलाई वैशाख २७ गते प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।

डा. महतले मञ्जु खाणलाई पार्टीले फलो नगरेको बताएका छन् । ‘मञ्जु खाँण कहाँ हुनुहुन्छ पार्टीले फलो गरेको छैन’, कांग्रेसका प्रवक्ता डा. महतले भने, ‘दूधको दूध पानीको पानी आओस् । कांग्रेसले सहयोग गर्छ ।’

यो प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनिरहेको डा. महतले बताएका छन् ।

‘पार्टी सभापतिको मौनता छैन । निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनी भनिरहनु भएको छ’, डा.महतले भने, ‘धेरै बोल्ने उहाँको बानी छैन ।’

सांसद आरजु राणालाई पनि सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी देखाउन खोजिएको भन्दै कांग्रेसका प्रवक्ता डा.महतले चिन्ता जनाएका छन् । उनले भने, ‘आरजुजीले आफैं प्रतिरक्षा गरिरहनु भएको छ ।’

अर्थमन्त्री समेत रहेका डा.महतले सांसद विकास कोष राख्न सुझाव आएको बताएका छन् । कुनै निष्कर्षमा नपुगेको उनको भनाइ छ ।

डा.महतले भने, ‘सांसद विकास कोष राख्न सुझाव आएको छ । बजेटको सीमितता छ । यसमा कुनै निष्कर्षमा पुगिएको छैन ।’

डा.महतले वैदेशिक ऋण, आन्तरिक ऋण र राजस्व बजेटका स्रोत भएको बताउँदै आन्तरिक ऋणको ब्याज बढी हुने गरेको बताएका छन् ।

अहिलेको समस्याले गर्दा ब्याजदर बढी भए पनि लिनुपर्ने बाध्यता रहेको मन्त्री डा.महतले बताएका छन् ।

Published : Tuesday, 2023 May 16, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया