अपराध कार्यालयले पत्ता लगाउन नसकेपछि आईजीपीको विशेष टोलीद्वारा रायमाझीलाई पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको निर्देशनमा खटाइएको विशेष टोलीले रायमाझीलाई काठमाडौंको बुढानिलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी कुबेर कडायतले जानकारी दिए । उनले भने, ‘पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई बुढानिलकण्ठबाट प्रहरीको विशेष टोलीले आइतबार साँझ पक्राउ गरेको छ ।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दानबहादुर कार्कीले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा खोजी भएका पूर्वमन्त्री रायमाझीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको पुष्टि गरेका छन् ।
रायमाझी गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौं जान्छु भनेर हिँडेका थिए । उनी बीच बाटोबाट सम्पर्कविहीन भएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको दिन अर्घाखाँचीमा रहेका एमालेका नेता तथा प्रतिनिधि सभाका सांसद रायमाझी सोही दिन साँझैदेखि फरार भएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझीलाई वैशाख २० गते पक्राउ गरेको थियो ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले नक्कली भुटानी शरणार्थी प्रकरणमा काम गरिरहेको छ । आरोपीहरूलाई उसैले धमाधम पक्राउ गरेको थियो ।
एमालेका नेता रायमाझीलाई अपराध कार्यालयले पक्राउ गर्न नसकेपछि आईजीपीको आदेशमा विशेष टोली खटिएको थियो । सोही टोलीले रायमाझीलाई पक्राउ गरेको छ ।
जथाभावी समाचार चुहाएर आलोचित बनेको अपराध कार्यालयले रायमाझीलाई पक्राउ गर्न नसकेको विषयमा प्रहरीभित्र ठूलो चर्चाको विषय बनेको छ ।
अपराध कार्यालयका प्रमुख तथा एसएसपी मनोज केसीले रायमाझीलाई भन्दा पनि घरभित्र बसेका व्यक्तिहरूलाई पक्राउ गरेर चर्चा बटुल्न खोजेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया