भक्तपुरमा कांग्रेसका वडा सभापतिसहित परिवारका सदस्यहरू कुटिए

काठमाडौं । नेपाली कांग्रेसका वडासभापति कृष्णभक्त श्रेष्ठसहित उनको परिवारलाई भक्तपुरमा कुटपिट भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं २ नेपाली कांग्रेसका सभापति श्रेष्ठ र उनका छोराहरूमाथि कुटपिट भएको हो । कुटपिटको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुरले भर्त्सना गरेको छ ।

सभापति भेषबहादुर थापाले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरी वैशाख २२ गते बिहान नौ बजेको समयमा उनीहरूमाथि कुटपिट भएको जनाएका हुन् ।

घरमै रहेको अवस्थामा श्रेष्ठ परिवारलाई दर्जनौ अपरिचित व्यक्तिहरूले कुटपिट गरेको विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय राजन पौडेल र उनकी श्रीमती करुणालगायतले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ । मार्नेसम्मको मनसायले कुटपिट गरेको देखिएको तर, पछि स्थानीयले बचाएको जनाइएको छ ।

घटनाबाट पीडितहरूको अंगभंग भएको जनाइएको छ । घटना सम्बन्धमा महानगरीय प्रहरी प्रभाग मध्यपुर थिमिमा निवेदन दिंदा निवेदनसमेत नलिएको भन्दै विरोध गरिएको छ ।

Published : Monday, 2023 May 8, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया