ठेकेदारलाई मुभिलाइजेसनको रकम रोकेर बैंकबाट ऋण दिनुपर्छ : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले ठेकेदारहरू निकै बलियो रहेको भन्दै ठेक्का लिएको पुल बनाउन पनि दश वर्षसम्म लगाउने गरेको गुनासो गरेकी छिन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बजेटका विषयमा छलफलमा सहभागी हुँदै राणाले ठेकेदारलाई दिइने मुभिलाइजेसन रकमले ठूलो बिकृति लिएको बताइन् ।

उनले भनेकी छिन्, ‘हाम्रो भौतिक पूर्वाधार विकासमा निकै समस्या छ । म सांसद हुँ । मेरो जिल्लामा एउटा बिज्र बन्नलाई दश वर्षभन्दा कम समय लाग्दैन । बिज्र कत्रो भने यो स्टेज जत्रो पनि छैन । किन ? मुभिलाइजेसन कस्ट दियो । अब ठेकेदार बेपत्ता ।’

‘ठेकेदारलाई समात्न कसैले पनि नसक्ने । ठेक्का क्यान्सल पनि गर्न नसक्ने । अनेकथरी साँठगाँठको कार्य हुन्छ’, राणाले भनेकी छिन्, ‘त्यसको गाली हामी हामी सांसदले खान्छौँ । जनताले मेरो ठाउँको काम सांसदले गरेन भन्छ । जनताले भित्रको बुझेको छैन ।’

‘जसले ठेक्का पार्छ उसले बैंकसँग ऋण लिनुपर्छ । सरकारी ठेक्काको लागि १–२ प्रतिशतमा ऋण लिएर काम गरेर समयमा काम पूरा गर्नुपर्छ’, राणाले भनेकी छिन्, ‘सरकारले बैंकलाई पैसा दिनुपर्छ । त्यही पैसा ठेकेदारलाई बैंकले व्याजमा काम चलाउन दिनुपर्छ । त्यो भयो भने काम पनि हुन्छ ।’

कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी सांसद राणाले सबै मिलेर देशलाई चलाउनुपर्ने बताएकी छिन् । उनले ६ हजार बिलियन डलर निजी क्षेत्रमा हालेको भन्दै त्यसबाट फाइदा नरहेको बताएकी छिन् ।

महिलाहरूको मातृ मृत्युदर नघटेको भन्दै त्यसमा ध्यानदिनुपर्ने उनले बताएकी छिन् । राणाले महिलाका विषयमा बजेट छुट्याउन आग्रह गरेकी छिन् । उनले महिलाहरूको साइबर सुरक्षामा पनि बजेटमा उल्लेख हुनुपर्ने बताएकी छिन् ।

Published : Monday, 2023 May 8, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया