प्रचण्डसँग ओली रिसाए, टोपबहादुरको कुरा गर्न सिंहदरबार प्रवेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।

बिहीबार सिंहदरबारमा दाहाल र ओलीबीच भेटवार्ता भएको हो । उनीहरूका बीच संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेको छ ।

एमालेबाट निर्वाचित जनप्रतिनिधि स्थानीय तहमा जाने बजेट कटौती भएकोमा विरोध जनाइरहेका छन् ।

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव रायमाझीका विषयमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका छन् ।

आफूले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् ।

‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको रहस्यपूर्ण छ’, ओलीले भने, ‘अहिलेको सिटिङ एमपी कहिँ भागेर जाने होइन ।’

ओलीले पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग कुरा गरेर जानकारी लिएको बताएका छन् । ‘मैले कुरा गरेको थिएँ, पक्राउ पुर्जीबारे जानकारी छ भनेको थिएँ, उहाँले भर्खरै आईजीसँग कुरा गरेको थिएँ, त्यस्तो होइन, तर कुरा के हो स्पष्ट पारिदिनुपर्ला भन्नुभएको छ, म काठमाडौं आउँदैछु भन्नुभएको थियो’, ओलीले भनेका छन् ।

रायमाझीको बचाउ गर्दै ओलीले भने, ‘मैले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराएको छु ।’

एमालेका अध्यक्ष ओलीले अहिले एमाले नेताहरू यसमा तानिएको हो वा तनाएको हो भन्नेबारे अध्ययन भइरहेको पनि बताए ।

तेस्रो देश पुनर्बास कार्यक्रमबाट बाँकी रहेका भुटानी शरणार्थी समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले पहल गरेको भन्दै ओलीले त्यस विषयमा अन्तर्राष्ट्रिय समुदायसँग छलफल गरेको पनि बताए ।

त्यतिबेला भुटानसँग कुरा गरेर उतै पठाउने, तेस्रो देश पुनर्बास गराउने वा नेपालमै बसोबासको व्यवस्था मिलाउने भन्ने विकल्पमा छलफल भएको उनले बताए ।

अहिले ४ वर्षअघि चेक काटेको र उक्त चेक जसले काटेको उसैसँग रहेको जस्ता घटना सार्वजनिक भएको ओलीले बताए ।

Published : Thursday, 2023 May 4, 3:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया