स्वास्थ्य मन्त्री नभएका बेला चिकित्सकहरूले ओपीडी शुल्क अत्याधिक वृद्धि गरे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ १ गतेदेखि अस्पतालको बहिरंग (ओपीडी) शुल्क वृद्धि गर्न अनुमति दिएको छ ।

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले चिकित्सकहरूको परामर्श शुल्क बढाउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्री नरहेका बेला स्वास्थ्य मन्त्रालयले ओपीडीको शुल्क बढाउन अनुमति दिएर सर्वसाधारणलाई ठूलो झट्का दिएको छ ।

जेठ १ गतेदेखि लागू हुने गरी ओपीडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा रू.४२० देखि रू.९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको चिकित्सक संघ र अफिनद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको मुद्रास्फिति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा नयाँ शुल्क निर्धारण गरिएको संघ र अफिनको बैठकको निर्णयमा उल्लेख छ ।

नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले रू.४२०, ५ वर्षभन्दा माथिकाले रू.५१५ ओपीडी शुल्क लिन पाउनेछन् ।

एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका डाक्टरले ५ वर्षभन्दा कम अनुभव भएकाले रू.५९० र ५ वर्षभन्दा बढी अनुभव भएकाले रू.६७० रुपियाँ शुल्क लिन पाउनेछन् ।

एमडी, एमएस र एमडीएस चिकित्सको हकमा ५ वर्ष अनुभव नभएकाले रू.७५० र ५ वर्षभन्दा बढी अनुभव भएकाले रू.८०० रुपियाँ लिन पाउनेछन् ।

डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले रू.८८० र ५ वर्षभन्दा बढी अनुभव भएकाले रू.९४० रुपियाँ लिन पाउने भएका छन् ।

१० वर्षभन्दा बढी अनुभव भएका एमडी, एमएस र एमडीएस डाक्टरले रू.९४० रुपियाँ शुल्क लिन पाउनेछन् ।

यसअघि २०७७ फागुनमा निर्धारण भएको शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले रू.३७०, ५ वर्ष भन्दा माथिकाले रू.४५० रुपियाँ ओपीडी शुल्क तोकिएको थियो ।

एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका डाकटरले ५ वर्षभन्दा कम अनुभव भएकाले रू.५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले रू.५९० रुपियाँ शुल्क लिन पाउने गरी शुल्क निर्धारण भएको थियो ।

एमडी, एमएस र एमडीएस डाक्टरको हकमा ५ वर्ष अनुभव नभएकाले रू.६६० र ५ वर्षभन्दा बढी अनुभव भएकाले रू.७०० रुपियाँ शुल्क तोकिएको थियो ।

डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले रू.७७० र ५ वर्षभन्दा बढी अनुभव भएकाले रू.८२५ रुपियाँ शुल्क तोकिएको थियो । १० वर्षभन्दा बढी अनुभव भएका एमडी, एमएस र एमडीएस डाक्टरले रू.८२५ रुपियाँ शुल्क लिन पाउने गरी शुल्क तोकिएको थियो ।

चिकित्सकको परामर्श शुल्क रू.२०७१ असोज १ गतेदेखि तोकिएको थियो । हरेक २–२ वर्षमा शुल्क पुनरावलोकन हुने निर्णय भएको थियो ।

२०७७ फागुनमा आएर शुल्क पुनरावलोकन भएको थियो । त्यसपछि अहिले पुनः नयाँ शुल्क तोकिएको छ ।

Published : Monday, 2023 May 1, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया