सभापति लामिछाने आफै दलको नेता बन्न अर्याललाई राजीनामा गराए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधि सभाका सांसद रवि लामिछानेलाई संसदीय दलको नेता बन्न बाटो खुलेको छ ।

शनिबार संसदीय दलको नेता पदबाट डोलप्रसाद अर्यालले राजीनामा दिएपछि लामिछानेलाई दलको नेता बन्ने बाटो खुलेको हो ।

दोहोरो नागरिकता काण्डमा लामिछानेको सांसदसहितका सबै पद गुमेको थियो । त्यसपछि अर्याल दलको नेता बनेका थिए ।
लामिछाने चितवन २ को उप–निर्वाचनबाट पुन सांसद निर्वाचित भएका छन् ।

अर्यालले संसदीय दलको नेता पदबाट आफ्नो राजीनामा संसदीय दलका उप–नेता विराजभक्त श्रेष्ठलाई बुझाएका छन् ।

अर्यालको राजीनामा शनिबार बसेको रास्वपाको संसदीय दल बैठकले स्वीकृत गरेको छ ।

सोमबार बस्ने रास्वपाको संसदीय दलको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्नेछ ।

सभापति लामिछानेले अर्याललाई नै संसदीय दलको नेता रहन दिएको भए पनि कुनै समस्या हुने थिएन ।

लामिछानेले अर्याललाई नेता पदबाट राजीनामा दिन बाध्य बनाएका छन् । अन्य नेता कार्यकताले जे सुकै भने पनि अर्याललाई राजीनामा गर्न लगाएर रास्वपाका सभापति पनि अन्य दलका नेताहरूभन्दा फरक छैनन् भन्ने सन्देश दिएका छन् ।

Published : Saturday, 2023 April 29, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया