एमालेका यी दुई सांसदहरूको यस्ता छन् कर्तुतहरू

काठमाडौं । एमालेकी नेतृ तथा प्रदेशकी पूर्व सांसद गुलेफन खातुन जेल चलान भएकी छिन् ।

सरकारी सहिछाप कीर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्व सांसद खातुन जेल चलान भएकी हुन् । उनी एमालेबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी थिइन् । उनी फिरार रहेकी थिइन् ।

शुक्रबार जिल्ला अदालत मोरङमा खातुनले आत्मसमर्पण गरेकी हुन् । आत्मसमर्पण गरेसँगै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई १ वर्ष कैदको फैसला भएको छ ।

सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुन सहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो ।

मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छाप कीर्ते गरेको उनलाई आरोप लागेको थियो ।

उच्च अदालत विराटनगरले २०७४ पुस ९ गते खातुनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपियाँ जरिवानाको फैसला सुनाएको थियो ।

यता, फरार रहेका एमालेका सांसद लक्ष्मी महतो कोइरीको विदा अस्वीकृत भएको छ । प्रतिनिधि सभाको शुक्रबार बसेको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले अन्य सांसदसँग कोइरीको विदा स्वीकृतिका लागि बैठकमा पेश गरेका थिए ।

फरार रहेका सांसदको पनि विदा स्वीकृतिका लागि पेश गरिएको भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेसका सांसद रामहरि खतिवडा लगायतका सांसदले पनि बिरोध जनाएपछि बैठक स्थगित हुन पुगेको थियो ।

पहिलो बैठकमा सभामुख घिमिरेले पेश गरेको प्रतिनिधि सभा सदस्य मनोरमा शेरचन, बिनाकुमारी थनैत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा स्वीकृत भएको थियो ।

उनीहरूको स्वकृत भए पनि कोइरीको स्वीकृत नभएपछि शुक्रबार राति बसेको बैठकमा कोइरीका बारेमा सभामा विभिन्न विषय उठेको भन्दै यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानून बमोजिम हुने जानकारी गराएका थिए ।

Published : Saturday, 2023 April 29, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया