कांग्रेसका चौधरी मुख्यमन्त्री बन्ने, शेरचनले खुलाए बाटो

काठमाडौं । लुम्बिनी प्रदेशमा एमालेको सरकार ढल्नेवित्तिकै नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूसँग आह्वान गरिएको छ ।

मंगलबार प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गरेका छन् । शेरचनले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् ।

धारा १६८ (२)अनुसार सरकार बनाउँदा दलहरूले बहुमत देखाउनुपर्छ । यसअघि नै नेपाली कांग्रेससहितका दलहरूले बहुमतसहित प्रदेश प्रमुख शेरचनलाई संविधानको धारा १६८ (२)अनुसार सरकार बनाउन माग गरेर पत्र बुझाइसकेका छन् ।

यसअघि गत पुस २७ गते एमालेका लीला गिरीको नेतृत्वमा गठन भएको थियो । सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता लिएपछि एमालेको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको थियो ।

मुख्यमन्त्री गिरीले सोमबार विश्वासको मत मागे पनि पाउन असफल भएका थिए ।

विश्वासको मत नपाएपछि एमालेका गिरी पदमुक्त भएका थिए । प्रदेश प्रमुख शेरचनले स्पष्ट बहुमत देखिने हस्ताक्षरसहित संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको माग दाबी गरेका छन् ।

एमालेले पुनः कीर्ते गरेर ठूलो दलको हैसियतमा सरकार बनाउन पाउँ भनेर प्रयास गरिरहेको थियो । प्रदेश प्रमुखले संविधानको धारा १६८ (२)अनुसार आह्वान गरेपछि एमाले जिल परेको छ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी हुनेछन् । पूर्वसहमतिअनुसार चौधरीलाई मुख्यमन्त्री बनाउने तयारी छ ।

Published : Tuesday, 2023 April 25, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया