ठगीका नाइके थापा अमेरिकाबाट सुटुक्क चितवन छिरे, पक्राउ गर्न पीडितहरू परिचालित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहनजंग थापाले विजय कार्कीको नाममा ६५ लाख असुलेर सम्पर्क विहीन बनेका छन् ।

थापाको ठगी काण्डमा परेका कार्की झापाका हुन् । कार्कीलाई अमेरिका पठाइदिने भन्दै ६५ लाख रकम असुलेर थापा सम्पर्क बिहीन बनेको पीडितले बताएका छन् ।

प्रतिनिधि सभाको उप–निर्वाचनको मौकाछोपेर थापा सुटुक्क अमेरिकाबाट नेपाला छिरेको प्रहरी निकट उच्च स्रोतले जनाएको छ ।

रास्पाका केन्द्रीय सदस्य थापा चितवनका होटेलहरूमा लुक्दै बसेको समेत खुलेको छ ।

थापा हाकिम चोकमा रहेको जानकारी पीडितहरूले पाएपछि लगत्तै खोजी गर्ने क्रममा उनी फरार भएका छन् । आफूलाई पीडितहरूले खोजी गरेको थाहा पाएपछि थापा रास्वपाका सभापति रवि लामिछानेको घरमा आश्रय लिन पुगेको खुलेको छ ।

एमालेका नेता तथा नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालको २५ लाख पनि रास्वपाका केन्द्रीय सदस्य थापाले झ्वाम पारिदिएको स्रोतको दाबी छ ।

खनाल र थापाबीच निकै घनिष्ठ सम्बन्ध थियो । पछि पैसाकै कारण केन्द्रीय सदस्य थापा र पूर्वआईजीपी खनालबीच सम्बन्ध बिग्रिएको छ ।

एमालेका नेता खनालको घर किन्ने बहानामा थापाले काठमाडौंकै बद्री अर्यालबाट २५ लाख रकम असुलेर सम्पर्क बिहीन भएपछि अर्याल पनि थापाको खोजी गरिरहेको बताइएको छ ।

ठगी काण्डमा परेका थापा करिब एक साताअघि नेपाल आएका हुन् । नेपाल आएपछि सिधै चितवन पुगेर लामिछानेको पक्षमा प्रचार प्रसार गर्ने भन्दै हिँडेको प्रत्यक्षदर्शीको भनाइ छ ।

रास्वपाका केन्द्रीय सदस्य थापाले लामिछानेलाई चुनाव खर्च पनि दिएको चर्चा छ । सर्वसाधारणलाई ठगी गरेर थापाले सभापति लामिछानेलाई आर्थिक सहयोग गरेको चर्चा छ ।

थापाविरुद्ध प्रहरी लगायत विभिन्न निकायमा उजरी लिएर पीडितहरू पुगेका छन् । प्रहरीले थापालाई निगरानीमा पनि राखेको छ । तर, राजनीतिकसहितका विभिन्न पावर लगाएर थापा फुर्ती लगाएर हिँड्ने गरेका छन् ।

थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) र परिचयपत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो ।

उक्त प्रकरणमा सन् २००२ अक्टोबरमा पक्राउ परेका थापा केही समय जेल बसेर निस्किएका थिए । उनीविरुद्ध अमेरिकामा चेक बाउन्स र विभिन्न मुद्दासहित ३ सयभन्दा धेरै मुद्दामा चलेको छ ।

जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका छन् । थापा फर्जी लाइसेन्स र परिचयपत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।


थापासँग प्रतिक्रिया लिन फोनमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Published : Monday, 2023 April 24, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया