सभापति देउवाले दिए धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य उप–निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएको भन्दै धन्यवाद दिएका छन् ।

सभापति देउवाले आइतबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘प्रतिनिधि सभा सदस्य उप–निर्वाचनमा तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा अत्यन्त उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।’

‘मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ’, देउवाले भनेका छन् ।

‘यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने बिश्वास लिएको छु’, सभापति देउवाले भनेका छन् ।

‘निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा तनहुँ—१, चितवन—२ र बारा—२ का सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु’, सभापति देउवाले भनेका छन् ।

‘उप–निर्वाचन भएका तीन वटै क्षेत्रहरूमा शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु’, उनले भनेका छन् ।

‘निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘निर्वाचनमा सहभागी राजनीतिक दल, संचारकर्मी साथीहरू एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति समेत हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।’

Published : Sunday, 2023 April 23, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया