कांग्रेसका बाहेक सबै टुरिष्ट, रवि-स्वर्णिम-सर्वेन्द्र-उपेन्द्र-रमेशले भोट हाल्न पाएनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले आफैलाई भोट दिन पाएनन् ।

चितवन क्षेत्र नम्बर २ मा पनि उप–निर्वाचनको मतदान जारी छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका छन् ।

रास्वपाका उम्मेदवार रवि लामिछाने र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले मतदान गर्न पाएका छैनन् ।

लामिछानेको मतदाता नामावली काठमाडौंमा रहेको छ । एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेको छ । सोही कारण लामिछाने र न्यौपानेले उप–निर्वाचनमा भोट हाल्न नपाएका हुन् ।

मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । लामिछानेको सांसद पद गुमेपछि चितवन २ मा उप–निर्वाचन गरिएको छ ।

उता, तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका लागि उप–निर्वाचन जारी छ ।

मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उप–निर्वाचन गरिएको छ ।

तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार बनेका छन् । भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्लेले मतदान गर्न पाएका छैनन् ।

एमालेका खनाल र रास्वपाका उम्मेदवार वाग्लेको तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम छैन ।

उता, बारा २ मा पनि मतदान भइरहेको छ । उप–निर्वाचनमा उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल आफैलाई मतदान गर्न पाएका छैनन् । उनीहरूको नाम बारा २ मा मतदाता नामावलीमा नाम छैन ।

जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा र एमालेबाट पुरुषोत्तम पौडेल लगायतले उम्मेदवारी दिएका छन् ।

Published : Sunday, 2023 April 23, 9:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया