ढोरपाटनका मेयरको सहकारीले पैसा ठग्यो, जनताद्वारा घेराउ, निगरानीमा देवकुमार

काठमाडौं । एमालेका नेता तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली अध्यक्ष रहेको ‘इमेज बचत तथा ऋण सहकारी संस्था लि. बाग्लुङ’ले हजारौं निक्षेपकर्ताको करोडौं रुपियाँ घोटाला गरेको छ ।

नेपालीको सहकारीले आफूहरूको रकम घोटाला गरेर पैसा नदिएपछि पीडितहरूले बाग्लुङमा रहेको सहकारीभित्र प्रवेश गरेर नारावाजी गर्नुका साथै आफ्नो रकम माग गरेका छन् । सर्वसाधारणले आन्दोलन गरेपछि प्रहरी आएर सहकारीलाई सुरक्षा दिएको छ ।

सहकारीका नाममा उत्पात मच्चाउँदै आएका नेपालीले करोडौं रुपियाँ घोटाला गरेर भागेको आरोप निक्षेपकर्ता पीडितहरूले लगाएका छन् । तर, नेपालीले आफू नभागेको बताएका छन् ।

पहिलाे पटक माओवादीले टिकट नदिएपछि एमालेमा प्रवेश गरेर उनी ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । दोस्रो कार्यकाल पनि उनले एमालेबाट जितेका हुन् ।

पीडितहरूले मेयर नेपालीलाई कारबाहीको माग गरेका छन् । उनीहरूले तत्काल आफ्नो रकम दिन माग गरेका छन् ।

मेयर नेपाली विवादित व्यक्ति हुन् । उनलाई तिब्बती नागरिकलाई नेपाल छिराएर नेपाली नागरिकता दिलाउने गरेको आरोप पनि लाग्ने गरेको छ । मेयर नेपालीमाथि कुनै अनुसन्धान भएको छैन ।

मेयर नेपालीलाई ढोरपाटन नगरपालिकाभित्र घोटाला गरेको आरोप पनि छ । उनले नगर प्रहरी भर्नादेखि आफ्नो सुरक्षा गार्ड राख्ने, आफू बस्ने कार्यालयमा लाखौं रुपियाँ खर्च गरेर सजावट गर्ने जस्ता गरेको गरेको पनि आरोप छ ।

मेयर नेपालीले राम्रो आर्थिक आर्जन गरे पनि सहकारीका बचतकर्ताहरूलाई भने नराम्रोसँग डुबाएका छन् । उनको सम्पत्तिमथि छानविन हुनुपर्ने माग पनि उठेको छ ।

सहकारीसहितका विभिन्न विवाद हुन थालेपछि प्रहरीले मेयर नेपालीको गतिविधि र हर्कतमा निगरानी गरिरहेको बाग्लुङ प्रहरी निकट स्रोतले जनाएको छ ।

मेयर नेपालीले एकैपटक पैसा निकाल्नेहरूको भिड भएपछि पैसा दिन नसकिएको स्वीकार गरेका छन् । प्रतिक्रिया दिँदै उनले भने, ‘हामीसँग निक्षेपकर्ताको करीव ४० करोड छ । ५० प्रतिशत रकम लिक्वीडिटी थियो । एकै पटक आएपछि पैसा दिन नसकिएको हो ।’

वैशाख ६ गतेको सञ्चालक समितिको निर्णय त अर्को सूचना नभएसम्मका लागि कारोबार बन्द गरिएको उल्लेख छ नि ? भन्ने जिज्ञासामा नेपालीले भने, ‘यो आजको कुरा भनेको हुँ ।’

यसैबीच, इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सूचना जारी गरेर मिति २०८० साल वैशाख ६ गतेको सञ्चालक समितिको बैठकबाट सम्पूर्ण कारोबार बन्द गरेको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘ईमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङको मिति २०८० साल वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार हाल देशमा विधमान आर्थिक अवस्थामा पनि तरलता अभाव भएको हुँदा अर्को सूचना नआएसम्म यस संस्थाबाट हुने सम्पूर्ण कारोबार बन्द गरिएको सूचना जारी गरिएको छ ।’

Published : Thursday, 2023 April 20, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया