तत्कालीन गृहमन्त्री र उर्जामन्त्रीलाई कारबाही गर्न चौधरीको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई कारबाही गर्न माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै चौधरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर ठगी प्रकरणमा मुछिएका तत्कालीन मन्त्रीहरूलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५ मंसिर ३ गतेको दिन बाँकी रहेको भुटानी शरणार्थी समस्या समाधानको लागि गठन गर्ने निर्णय बमोजिम २०७६ साल साउन २४ गतेको दिन तत्कालीन गृह मन्त्रीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भयो ।’

‘पछि नेपालीलाई भुटानी शरणार्थी बनाउनको लागि गिरोह सक्रिय भयो’, उनले भने, ‘तत्कालीन गृहमन्त्री र मन्त्रिपरिषदका उच्चपदस्थ कर्मचारीहरूको समेत नाम मुछियो ।’

चौधरीले भने, ‘एक जनाबाट दशदेखि ५० लाखसम्म उठाएको गृह मन्त्रालयको गाडी प्रयोग भएको र मन्त्रीहरूको नातेदारको नाममा चेक समेत काटिएको म्याजेस, म्यासेञ्जर र ह्वाट्स एपमा कुराकानी भएको त्यो खालको कुराकानी भेटिएको छ ।’

‘यो जघन्य मानव बेचबिखनको अपराध हो । ठगीको हो । यो विषय कुनै पनि हालतमा कमजोर बन्नु हुँदैन’, उनले भनेका छन् ।
‘अपराधमा संलग्न जो सुकै होस् कारबाहीको दायरामा ल्याउनुपर्छ’, उनले भनेका छन् ।

भुटानी शरणार्थी काण्डमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उर्जामन्त्री टोपबहादुर रायमाझीको नाम जोडिएको छ । तत्कालीन सचिवहरूको नाम पनि जोडिएको छ । भुटानी शरणार्थी काण्डमा नाम मुछिएकाहरू सबै एमालेका नेता हुन् ।

Published : Sunday, 2023 April 16, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया