सभापति देउवाले कांग्रेसका कार्यकर्तामा ल्याइदिए उथलपुथल र खुसीयाली

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको ९औँ महाधिवेशनमा देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि नेतृत्व लिन सक्ने बताएका हुन् ।

देउवाले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोंचेअनुसार काम गर्न सक्ने अवस्था नभएको बताएका छन् ।

सभापति देउवाले आफ्नो पार्टीले सोंचेअनुसार काम गर्न बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले संविधानअनुसार सरकार बनाउन आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नुपरेको पनि बताएा छन् ।

उनले भने, ‘आज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ ।’

‘धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो’, देउवाले भने, ‘अझै यो पार्टी एकदमै अहिलेको संविधानअनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन ।’

उनले भने, ‘तापनि भोलि हामी सबै लागेर कांग्रेसलाई बहुमत ल्याउनेतिर सबै लाग्यौँ भने, यसमा शिक्षक संघको पनि योगदान हुँदा हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ ।’

देउवाले अहिले संयुक्त सरकार भएकाले काम गर्न समस्या भएको बताएका छन् ।

‘हुन त अहिलेको संविधान अनुसार गठबन्धन अति आवश्यक छ’, उनले भने, ‘गठबन्धन नभई सरकार बन्दै बन्दैन ।’

उनले भने, ‘गठबन्धन सरकारमा हामी सहभागी भएका छौँ । त्यसले हाम्रो पार्टीलाई एउटा बल पुर्‍याएको छ ।’

सभापति देउवाको अभिव्यक्तिले कांग्रेसका कार्यकर्तामा उत्साह आएको छ ।

Published : Tuesday, 2023 April 11, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया