सभापति लामिछानेको नाममा थापा र पूर्व गायिकाको बाल्टिमोरमा धन्दा, पूर्वआईजीपी पनि ठगिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहनजंग थापाले अमेरिकाको बाल्टिमोरमा रवि लामिछानेका लागि धमाधम चन्दा उठाउने कार्य गरिरहेको खुलेको छ ।
नेपालका धेरै मानिसहरूलाई ठगी गरेको अभियोग लागेका थापाले बाल्टिमोरमा १०/१५ वर्षदेखि बस्दै आएकी पूर्वगायिकालाई लगाएर चन्दा उठाउन लगाएका हुन् । थापाले ती पूर्व गायिकालाई रास्वपाका सभापति लामिछानेका लागि अर्थ संकलनको जिम्मेवारी दिएका छन् । ती गायिकाले नेपालीहरूसँग चन्दा संकलन गरेर लामिछानेलाई पैसा नेपाल पठाउने गरेको आरोप छ ।
संकलन भएको रकम लामिछानेकी पत्नी निकिता पौडेललाई विभिन्न माध्यमबाट पठाउने गरेको स्रोतको दाबी छ । यस विषयमा पौडेलसहितका व्यक्तिसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
सांसद ढाकाप्रसाद श्रेष्ठले मन्त्री बन्न रास्वपाभित्र दुई करोड माग गरेको अडियो सार्वजनिक भएका बेला बाल्टिमोरमा पनि थापा र पूर्वगायिकाको चन्दा आतंकको समाचार बाहिर आएको छ ।
सभापति लामिछाने चितवन २ बाट प्रतिनिधि सभाको उप–निर्वाचनमा उम्मेदवार बनेका छन् । लामिछानेलाई चुनावी खर्च भनेर बाल्टिमोरमा थापा र पूर्व गायिकाले आतंक मच्चाएपछि नेपालीहरूको भागाभाग भएको छ ।
सभापति लामिछानेलाई चुनावी खर्च भनेर ती गायिकाले नेपालीहरूलाई फोन गरेर वा भेटेर चन्दाको रकम माग गर्ने गरेकी छिन् ।
नेपालमा विभिन्न काण्ड गरेर प्रहरीको खोरभित्र बसेर अमेरिका पलायन भएकी ती पूर्व गायिका र रास्वपाका केन्द्रीय सदस्य थापाबीच निकै घनिष्ठ सम्बन्ध छ ।
केन्द्रीय सदस्य थापाविरुद्ध विभिन्न उजुरीहरू प्रहरीमा परेका छन् । गृह मन्त्रालयमा पनि थापाविरुद्ध उजुरी परेको स्रोतले जनाएको छ ।
एमालेका नेता समेत रहेका नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालको २५ लाख पनि थापाले झ्वाम पारिदिएको स्रोतको दाबी छ । खनाल र थापाबीच निकै घनिष्ठ सम्बन्ध थियो । पछि पैसाकै कारण केन्द्रीय सदस्य थापा र पूर्वआईजीपी खनालबीच सम्बन्ध बिग्रिएको छ ।
अमेरिकामा काण्डै काण्डमा जेलमा परेर निस्किएका केन्द्रीय सदस्य थापा भने लामिछानेकै नाम बेच्दै पछिल्लो समयमा ठगीधन्दालाई मलजल पुर्याइरहेका छन् ।
बाल्टिमोरमा बसेर नेपाल आवत–जावत गर्ने थापाले पूर्वआईजीपी खनालको काठमाडौंमा रहेको घर बैना गराइदिने नाममा जापानबाट पैसा मगाएर २५ लाख रुपियाँ ठगी गरेको दाबीसहित खुलाासा स्राेतले गरेकाे छ ।
थापाले लामिछानको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै ठगी गर्दै आएका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा पैसा उठाएका थापाले पीडितहरूलाई उल्टै धम्की दिने गरेको कुरा पनि ब्यवसायीहरूबाटै बाहिर आएको छ ।
अमेरिकी बैंकको चेक दिएर विभिन्न व्यक्तिहरूलाई लाखौं रकम ठगी गर्दै आएका थापाले प्रहरीका उच्च हाकिमहरूसँग नाम जोडेर गफ लगाउने गरेका छन् ।
प्रहरीका उच्च हाकिमहरूको नाम लिएर थापाले पीडितहरूलाई उल्टै धम्क्याउदै आएको एक पीडितले गुनासो गरेका छन् । थापाले केसी थरका एक व्यवसायीबाट पनि ७५ लाख रकम ठगी गरेका छन् ।
त्यो पैसा पटक–पटक फिर्ता माग्दा पनि नदिई उल्टै धम्की दिने गरेका छन् । लामिछाने गृहमन्त्री छँदा थापाले प्रहरीको सरुवा बढुवा गराइदिने भनेर असुली सुरु गरेको आरोप लाग्दै आएको छ ।
थापाले आफूलाई अमेरिकाको ठूलो व्यवसायी भएको भ्रम छर्दै ठगी गर्ने गरेको आरोप छ । थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको थियो । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका छन् । उनी फर्जी लाइसेन्स र परिचयपत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।
थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) र परिचयपत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो । उक्त प्रकरणमा सन् २००२ अक्टोबरमा पक्राउ परेका थापा केही वर्ष जेल बसेर निस्किएका थिए ।
उनै थापाले विभिन्न व्यक्तिहरूबाट लिएको पैसा फिर्ता गर्दा अबैध पैसा किन फिर्ता गर्नुपर्यो, तपाई नै फस्नुहुन्छ भन्दै धम्की दिने गरेका छन् । अमेरिकाका नेपालीहरूलाई ठगी गर्न उनले एक छद्मभेषी व्यक्तिलाई नै खटाएको बुझिन आएको छ ।
ती व्यक्तिको काम नै थापालाई ठूलो व्यवसायीभन्दै नयाँ व्यक्तिहरूलाई चिनजान गराउने र विभिन्न बहानामा पैसा असुली गर्ने हो ।
थापाको ठगीधन्दा विरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठकहाँ केही पीडितहरूले मौखिक र लिखित उजुरी समेत दिएको स्रोतले जनाएको छ ।
रास्वपाका सभापति लामिछानेको प्रचारमा नेपाल आउन लागेका थापालाई प्रहरीले पक्राउ गर्छ कि गर्दैन ? हेर्न बाँकी छ । सभापति लामिछाने र थापासँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।
थापालाई प्रहरीले कुनै पनि बेला पक्राउ गर्न सक्छ । उनी बेलाबेला अमेरिकाबाट नेपाल आउने गर्छन् । नेपाल आएका बेला थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ । पीडितहरूले थापालाई पक्राउ गरेर कारबाही गर्न माग गरेर उच्च राजनीतिक नेतृत्वदेखि प्रहरीको उच्च तहसम्मलाई दवाव दिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया