प्रचण्ड, देउवा र ओलीबीच आकस्मिक भेटवार्ता, बाङ्गिन खोजेको एमाले साइजमा आयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा सभामुखको कार्यकक्षमा तीन शीर्ष नेताहरूबीच शनिबार भेटवार्ता भएको हो । भेटमा एमालेका नेता समेत रहेका सभामुख देवराज घिमिरे पनि उपस्थित रहेका थिए ।

उनीहरूका बीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई विशेष समितिमा लैजाने विषयमा छलफल भएको थियो ।

उनीहरूका बीच विधेयकलाई फास्ट ट्रयाकमा सदनबाट टुंग्याउने कुरा भए पनि ठोस सहमति हुन सकेको छैन ।

प्रधानमन्त्री दाहाल र देउवा विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्न चाहेका छन् । एमालेका अध्यक्ष ओलीले विद्येयकलाई अड्काउन खोजेका छन् ।

यद्यपि, विधेयकलाई विषयगत समितिमा लैजानुपर्ने र विशेष समिति गठन गरेर अघि बढ्ने मध्यमार्गी उपाय निकालिएको छ ।

प्रतिनिधि सभामा दफावार छलफलमा रहेको बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमा दलहरू विभाजित छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंग्याउन छुट्टै विशेष समिति गठन गर्ने समझदारी शीर्ष नेता पुगेका छन् ।

एमालेले सदनबाट फास्ट ट्रयाकमा टुंग्याउन नमानेकाले सत्तापक्ष सर्वाेच्च अदालतबाट समेत ध्यानाकर्षण भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विशेष समितिमा लगेर छिटो निष्कर्षमा पुर्‍याउन तयार भएको छ ।

हालै पारित भएको प्रतिनिधि सभा नियमावली, २०७९ को दफा १८० मा विशेष एवं संवेदनशील वा गम्भीर प्रकृतिका विधेयक वा अन्य कार्यका लागि आवश्यकताअनुसार विशेष समिति गठन गर्न सकिने व्यवस्था छ ।

पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सदनभित्र रहेको टिआरसीसम्बन्धी, संवैधानिक परिषदसम्बन्धी र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई राष्ट्रका निम्ति छिटो टुंग्याउन जरुरी रहेको विषयमा शीर्ष नेताबीच छलफल भएको बताए ।

दाहालले सो विषयमा सहमति बनाउने कुरामा सैद्धान्तिक रूपमा सबै सहमत रहेको बताएका छन् ।

विज्ञ, संविधानविद् र कानूनविदसमेत सहभागी बनाएर २८ चैतको बैठकबाट विधेयकलाई टुंगाउने तयारी छ ।

कांग्रेस सभापति देउवाले विशेष समिति मिलनबिन्दु हुनसक्ने बताएका छन् । उनले भने, ‘टिआरसीमा राम्रो कुरा भयो । प्रचण्डजीले जे भन्नुभयो त्यही कुरा हो ।’

एमाले अध्यक्ष ओलीले सदनलाई कसरी प्रभावकारी बनाएर अगाडि बढाउने र अहिले आइराखेका समस्या कसरी समाधान गर्ने विषयमा छलफल भएको बताएका छन् ।

ओलीले भने, ‘टिआरसी विधेयकमा पनि छलफल भयो । फास्ट ट्रयाकबाट कति गर्न मिल्छ, कति मिल्दैन हामी छलफल गर्दैछौं । फेरि अर्काे दिन बसेर टुंग्याउँछौं ।’

‘कुनै न कुनै हिसाबले समितिमा त जानेभयो’, ओलीले भनेका छन् । चैत ५ गते प्रतिनिधि सभामा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा २८ वटा संसोधन प्रस्ताव परेका छन् ।

विद्येयकमाथि दफावार छलफल गरेर समितिमा पठाउने वा पूर्ण सदनबाटै पास गर्नेभन्ने टुंगाउन बाँकी छ । शान्ति प्रक्रियाका पूरा हुन बाँकी रहेका विषयमा टुंगोमा पुग्न नसक्दा माओवादीलाई तनाब भएको छ ।

Published : Sunday, 2023 April 9, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया