काठमाडौं उपत्यकाभित्रै विप्लव समूहको चन्दा आतंक, गृहमन्त्री श्रेष्ठ र आईजीपी कुँवर बेखबर

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले स्थानीय तहसँग चन्दा माग गरेर आतंक मच्चाउन थालेको छ ।

पार्टी चलाउनभन्दै काठमाडौं उपत्यकाका स्थानीय तहहरूसँग विप्लवका कार्यकर्ताले चन्दा माग्न थालेको स्रोतले जनाएको छ ।

एक उच्च तहका कर्मचारीले भने, ‘तलब खान समेत राज्यलाई समस्या परेका बेला विप्लवका कार्यकर्ताले चन्दा माग गरेर हैरान बनाएका छन् ।’

कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्र चौपट बन्दै गएको छ । सरकारी कर्मचारीलाई तलब खुवाउन हम्मेहम्मे परेको छ । सरकारले धरौटी र विभिन्न कोषको रकम तानेर कर्मचारीलाई तलब खुवाउन थालेको छ । कर्मचारीलाई चैत र वैशाखको तलब कसरी खुवाउने भन्नेमा अर्थ मन्त्रालयका अधिकारीहरू सोँचमा छन् ।

मुलुकको अर्थतन्त्र बेहालको अवस्थामा रहेका बेला विप्लव समूहको चन्दा आतंक सुरू भएको छ । चन्दा नदिए जे पनि हुन सक्ने उनीहरूको चेतावनी कर्मचारीलाई छ ।

विप्लव समूहले काठमाडौं उपत्यकासहित देशभरिका स्थानीय तह, प्रदेश र संघीय निकायमा चन्दा मागेर हैरान पार्न थालेका छन् ।

विप्लव समूहले काठमाडौं महानगरपालिकासहितकाठमाडौंका स्थानीय तहमा चन्दा मागेका छन् । काठमाडौं महानगरपालिकाको वडा तहमै पुगेर विप्लव समूहले चन्दा दिन धम्की दिन थालेको छ ।

काठमाडौंका विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई विप्लवका कार्यकर्ताले निरन्तर चन्दा माग गरिहेको स्रोतले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका केही वडाध्यक्षहरूसँग कुराकानी गर्दा विप्लव समूहले चन्दा आतंक मच्चाएको पुष्टि गरेका छन् । भ्रष्टाचारको विरोध गर्ने नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले चन्दा आतंक मच्चाए के गर्न खोजेको आफूहरूले बुझ्न नसकेको एक वडाध्यक्षले बताएका छन् ।

विप्लव समूहले चन्दा आतंक मच्चाउँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेर बसेको छ । विप्लव समूहले काठमाडौंभित्रै चन्दा आतंक मच्चाए पछि सुरक्षा निकाय र राज्य संयन्त्र छ की छैन भन्ने गम्भीर प्रश्न उठेको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर केही दिन अगाडि मात्रै प्रहरीको कमाण्ड सम्हालेका छन् । कुँवरले विप्लव समूहको चन्दा आतंक रोक्न पहल गर्छन् वा खुला छाडिदिन्छन् हेर्न बाँकी छ । आईजीपीमा कुँवर आउनेवित्तिकै मुलुकको शान्ति सुरक्षा कमजोर भएको चर्चा भइरहेका बेला विप्लव समूहले काठमाडौंमा आतंक मच्चाएको हो ।

गृह मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सम्हालेका छन् । विप्लव समूहका कारण श्रेष्ठलाई चुनौति थपिएको छ । श्रेष्ठले मुलुकको शान्ति सुरक्षा सम्हाल्न सक्दैनन् भन्ने सन्देश दिइसकेका छन् । जनताबाट सधैँ पराजित भएका श्रेष्ठ राष्ट्रिय सभामा झ्यालबाट छिरेर उप–प्रधान र गृहमन्त्री बनेका छन् ।

Published : Thursday, 2023 April 6, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया