सिन्धुपाल्चोक, धनकुटा र धादिङका ५ जना केटाहरू गोकर्णेश्वरबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चैत २१ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको अत्तरखेलबाट पक्राउ गरिएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गोकर्णेश्वर तथा थानकोट लगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपियाँ साटिदिने भनि प्रलोभनमा पारेर श्रृङ्खलाबद्ध रुपमा ठगी कार्यमा संलग्न ५ जनाको समूहलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धादिङको सुनौलो बजार गाउँपालिका वडा नं. ७ घर भइ ललितपुरको चापागाउँमा बस्ने ३२ वर्षीय सुरेश कोइराला, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ५ सिङगाचै घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्दै आएका २४ वर्षीय विकाश तामाङ, धनकुटाको बलारा घर भई हाल काठमाडौंको भंगाल बस्ने ३२ वर्षीय दीपक दमाई रहेका छन् ।

थप पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नं. ५ सिङगाचै घर भई हाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका २८ वर्षीय साजन तामाङ र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ५ घर भई हाल काठमाडौंको नयाँबस्ती बस्दै आएका ३५ वर्षीय प्रेमबहादुर तामाङ रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले अनुसन्धानबाट उनीहरू पटक पटक अपराधहरूमा संलग्न रहेको खुल्न आएको जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूले हालसम्म काठमाडौं उपत्यका र उपत्यका बाहिर समेत गरि विभिन्न ६ वटा डलर साट्ने भनेर ठगी गरेको घटनामा संलग्न रहेको पाएको प्रहरीले जनाएको छ ।

यो समूहले लुटपाट गर्ने, ठगी गर्ने, पीडित व्यक्तिहरूलाई सस्तोमा डलर साटिदिने भनेर पटक पटक फोन गरेर बोलाउने, १ र ५० दरका अमेरिकी डलर देखाइ विश्वासमा लिएर उपत्यकाका साँघुरा गल्ली, पातलो बस्ती, जंगलमा लगेर लुट्ने गरेको खुलेको छ ।

उनीहरूले कागजमा डलर तल र माथि राखेर मण्डल बनाइ पीडित व्यक्तिसँग लाखौं रकम लुटेर भाग्ने गरेको खुलेको छ ।

पक्राउ परेको यो समूहले ठगी र लुटपाट गरेपछि आफूले प्रयोग गर्ने गरेको मोबाइल फालेर नयाँ सीम प्रयोग गर्ने गरेको थियो । उनीहरूको हुलियाका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Published : Thursday, 2023 April 6, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया