कांग्रेसका दुई मन्त्रीको टुंगो लाग्यो, क–कसको नाम आयो ?

काठमाडौं । नेपाली कांग्रेसले थप दुई मन्त्रीहरूको नाममा सहमति जुटाएको छ ।

बुधबार धुम्बाराहीमा बसेको शीर्ष नेताहरूको बैठकमा नेताद्वय मोहनबहादुर बस्नेत र नारायणप्रसाद साउद (एनपी)को नाममा सहमति जुटेको स्रोतले जनाएको छ ।

कांग्रेसको भागमा ८ वटा मन्त्रालय परेकोा छ । एक राज्य मन्त्री पनि कांग्रेसले पाउनेछ । सरकारमा पठाउन बाँकी ४ मन्त्रीमध्ये २ जनाको नाम टुंग्याएको बुझिएको छ ।

नेता बस्नेत सिन्धुपाल्चोकको क्षेत्र नं. २ बाट अत्याधिक मतसहित निर्वाचित भएका थिए । साउद कञ्चनपुर– २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

कांग्रेसले पाएका ८ मन्त्रालयमध्ये कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ ।

चैत १७ गते उप–प्रधानमन्त्रीसहित रक्षा मन्त्रीमा उप–सभापति पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत, शहरी विकासमन्त्रीमा सीता गुरूङ र उद्योग मन्त्रीमा रमेश रिजाललाई पठाइएको थियो ।

सभापति देउवा पक्षले सरकारमा पठाउने थप २ मन्त्रीको नाम टुंगो लगाएको हो । साउद परराष्ट्र मन्त्री हुने सम्भावना छ ।

बस्नेतलाई स्वास्थ्य मन्त्रालय दिने तयारी छ । खेलकुद मन्त्रालयमा साउद वा बस्नेतको भागमा पर्ने सम्भावना पनि उत्तिकै छ ।

डा.शेखर कोइराला समूहबाट उप–सभापतिसमेत रहेका स्याङ्जा–२ बाट चुनाव जितेका धनराज गुरूङ, सह–महामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, मोरङ– १ बाट निर्वाचित सांसद डिगबहादुर लिम्बुलगायत मन्त्री बन्न आकांक्षी छन् ।

मन्त्री बन्न सह–महामन्त्री जीवन परियारले जातीय कुरा जोडतोडले उठाएका छन् । परियारले दलितलाई मन्त्री बनाउनुपर्ने भनेर लबिङ गरिरहेका छन् ।

दलित भएकै नाममा उनलाई मन्त्री दिनुपर्ने तर्क छ । कहिल्यै नजित्ने तर सधैँ दलितका नाममा समानुपातिक सांसद बनेर अवसर पाउनेमा परियार पहिलो नम्बरमा पर्छन् ।

Published : Wednesday, 2023 April 5, 5:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया