‘दाइ–भाउजु’बारे गगन थापाको ब्याख्या सुनेपछि कांग्रेस कार्यकर्ताको चित्त बुझ्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तनहुँ १ का प्रतिनिधि सभाका उम्मेदवार गोविन्द भट्टराईलाई विजयी बनाउन अपील गरेका छन् ।

सोमबार तनहुँमा भट्टराईले मनोनयन दर्ता गराएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘नेपाली कांग्रेसलाई बदल्न, रूपान्तरण गर्न हामी संघर्ष गरिरहेका छौं । म, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, बद्री पाण्डेलगायत सबैको म अहिले नाम लिन्न, सबै यहीँभित्र बदलाव ल्याउँछौं, परिणाम ल्याउँछौं भनेर लागिरहेका छौं ।’

‘एउटा सांसद बन्ने कुरा वा मन्त्री बन्ने कुरा म बन्ने कुरा, मबाहेक अरू कोही पनि छैन भन्ने लोभ भएको भए सभापति शेरबहादुर देउवासँग संसदीय दलको चुनाव लड्न म जाने थिइनँ’, थापाले भने, ‘मेरो प्रस्तावक बन्न विश्वप्रकाश शर्मा आउँदैनथे, मेरो समर्थक बस्न यही तनहुँका प्रदीप पौडेल आउँदैनथे ।’

उनले भने, ‘त्यसैले म देशभरिका तन्नेरी साथीहरूलाई अलमलमा नपर्न आग्रह गर्न चाहन्छु । कोही भ्रममा नपर्नुस् ।’ ‘यहाँ विषय पार्टी नेताको होइन, तपाईंको हो । यहाँ विषय हाम्रो लडाइँको हो’, उनले भनेका छन् ।

‘कहिलेकाहीँ साथीहरू के भन्नुहुन्छ भने हामी बाहिरबाट पढेर आएको हो । मेरो बा र आमा सोलुखुम्बुको पहाडबाट सुख खोज्दै काठमाडौं आउनुभएको हो’, उनले भने, ‘मेरो आमाले पढ्न पाउनुभएन । बाले पढ्नुभयो ।’

उनले भने, ‘हामीलाई पढाउनुभयो । म यति वर्ष विदेशमा बसेर यो काम गरेर आएको, म यतिको जागिर छाडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्छ– मैले त जागिर नै नखाएको । तिमीले त खाएर छोडेर आएको । तिमीले जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको हो ।’

‘म त त्यो बेलामा सडकमा लडेर बसेको हो । छातीमा ढुंगा खाएर बसेको हो । विदेश जान नसक्ने भएर होइन, जाने क्षमता नभएर पनि होइन । तिमी गयौ भन्नेमा मेरो प्रश्न होइन तर तिमी यहाँ (स्वदेश) बस्यौ भन्नेमा तिमीले प्रश्न गर्‍यौ भने तिमी किन गयौँ भन्ने म पनि प्रश्न गर्छु’, थापाले भनेका छन् ।

उनले भने, ‘खासगरी पार्टीका युवा साथीहरूलाई मेरो आग्रह छ– हामीहरू पनि एउटा सपना लिएर राजनीतिमा होमिएका छौं । हामी नेपाली कांग्रेस बदल्न चाहन्छौं ।’

थापाले भने, ‘कांग्रेसभित्र जे भइरहेको छ, शतप्रतिशत ठीक भइरहेको छ ? छैन । कांग्रेसभित्र धेरै कुरा बदल्नुपर्नेछ । तर कांग्रेसलाई लात हानेर गएर बाहिरबाट कांग्रेस खराब भनेर ढुंगा हानेर झ्यालका सीसा फुटाएर कांग्रेस बदलिन्छ ? कांग्रेस बदल्न त्यहीँभित्र बसेर संघर्ष गर्नुपर्छ, यो संघर्ष गर्ने हो ।’

‘यो संघर्ष हामीले गर्ने हो । गोविन्द भट्टराईलगायत सबै सँगै बसेर गर्ने हो’, महामन्त्री थापाले भनेका छन् । ‘अब म जम्मा १०/१५ वर्ष मात्रै राजनीतिमा क्रियाशील रहने हो । परिवारका सदस्यहरूसँग कुराकानीमा पनि मैले यो कुरा भन्ने गरेको छु’, उनले भने, ‘मैले अब १०/१५ वर्ष राजनीति गर्दा मेरा दुई छोरीहरू हुर्किसकेका हुनेछन् । त्यसबेला नेपालका दूरदराजमा बस्नेहरूले सहरमा जन्मिएका छोरीहरूले जस्तै बराबर हैसियत प्राप्त गर्ने अवस्था बन्यो, युवाहरू आत्तिएर विदेश जानुपर्ने अवस्था रहेन भने देश बन्छ र हामीले गरेको राजनीतिले सार्थकता पाउँछ ।’

थापाले भने, ‘हामीलाई अहिलेको अवस्थाबाट कांग्रेस पनि बदल्नुछ, देश पनि बदल्नुछ । नत्र हामी कोही मन्त्री हुन्थ्यो होला कोही केही हुन्थ्यौं होला । तनहुँका कांग्रेसका युवा साथीहरू र अरू पार्टीका पनि युवा साथीहरू, तपाईं हामीमाथि एउटा प्रश्न गरिएको छ– के नेपालभित्र बसेर यहीँका विद्यालय र विश्वविद्यालयमा पढेका हामीहरू फाल्तु हौं ? के हामी सबै अयोग्यहरू हौं ? के हामीले सपना देख्ने अधिकार छैन ? हाम्रो संघर्ष बेकार हो ?’

उनले भने, ‘फेरि भन्छु– यो कांग्रेस पार्टीमा मेरो बुवाभन्दा पनि ३ वर्ष बढी उमेरको पार्टी सभापतिसँग म दल नेताको चुनाव लडेर आएको हुँ । अरू पार्टीमा यस्तो देखाउन सक्नुहुन्छ ? कांग्रेस महाधिवेशनमा २०७२ सालमा म मेरा ससुराबासँग महामन्त्रीमा चुनाव लडेर आएको हुँ । मजस्ता थुप्रै साथीहरू हुनुहुन्छ हामी संघर्ष गरिरहेका छौं । यो पार्टीभित्र केही पद नपाउने साथीहरू हुनुहुन्न ? हामीले सामूहिक रूपमा गरिरहेको संघर्ष तनहुँले यसपालि गोविन्द भट्टराईलाई निर्वाचित गराएन भने यसले दिने सन्देश हामीले गरिरहेको संघर्ष ठीक छैन भन्ने हुन्छ ।’

‘कोही पनि अलमल नगरी यसपालि गोविन्द भट्टराईलाई जिताउन लाग्नुहुन्छ भन्ने विश्वास छ । गठबन्धन दलका साथीहरू पनि यहाँ हुनुहुन्छ, माथि पनि हामीहरू कुराकानी गरिरहेका छौं, सानातिना कुरा मिलाउनुहुन्छ’, थापाले भने, ‘एकजुट भएर हामी चुनावमा होमिने हो, साझा उम्मेदवारलाई जिताउने हो । तपाईंहरूको सहयोग रहन्छ भन्ने विश्वास छ। हामीसँग अब थौरै दिनमात्र बाँकी छ । अन्तिम दुई दिन मौन अवधि रहन्छ ।’

उनले भने, ‘त्यसअघि केहि समय मात्र हामीले काम गर्न पाउँछौं ।’ ‘नयाँ आउनुभएका साथीहरूको सबैभन्दा ठूलो विषय कुन मन्त्रालय पाउने र कुन मन्त्री पाउने भन्ने मात्र छ । त्योभन्दा अरू कुनै विषय छैन’, उनले भनेका छन् ।

‘तनहुँबासीले अब प्रश्न गर्नुपर्छ– पुष्पकमल दाहाल र केपी ओली मिलेर गठबन्धन बनाउँदै गर्दा त्यो गठबन्धनलाई किन मत हालेको ? केही दिन पछाडि त्यो गठबन्धन र सरकारबाट बाहिर किन निस्केको ? नयाँ गठबन्धन बन्दै गर्दा त्यो गठबन्धनबाट राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई किन मत हालेको, अहिले सरकारभन्दा बाहिर किन बसेको ?’, उनले भनेका छन् ।

‘कतिपय साथीहरूले के भन्नुहुन्छ भने– नेपाली कांग्रेस पार्टी दाजु–भाउजूको पार्टी भयो । त्यसकारणले गर्दा दाजु–भाउजूको पार्टीसँग हामी धेरै नजिक भएर बस्न सक्दैनौं । म चुनौतीका साथ भन्छु, उपनिर्वाचन पछाडि पुष्पकमल दाहाल नेतृत्वको सरकारले नयाँ पार्टीलाई गृहलगायत मन्त्रालय दिन्छु भन्यो भने नयाँ पार्टी सरकारमा आउँछ कि आउँदैन ? आउँछ कि आउँदैन ? आउँछ’, उनले भनेका छन् ।

थापाले भने, ‘त्यो बेलामा दाइसँग बस्दिनँ, भाउजूसँग बस्दिनँ भन्छ ? भन्दैन । त्यो बेलामा दाइ पनि कति राम्रो भाउजू पनि कति राम्रो, यता हेरे पनि राम्रो उता हेरे पनि राम्रो भन्छ । कतिखेर ? जतिखेर भनेको मन्त्रालय पायो । आखिर विषय के हो ? यता पनि ठीक उता पनि ठीक ? तपाईंलाई परेको बेला दाइ पनि ठीक, तपाईंलाई माफी दिए भाउजू पनि ठीक ? सबै ठीक । तपाईंले भनेको मन्त्रालय प्राप्त भएन भने सबै बेठिक ? यही हो नयाँ पार्टी, यही हो नयाँ चाल ?’

‘देशभरका सबै साथीहरूको ध्यान तनहुँमा छ । तपाईंहरूले तनहुँबाटै तनहुँमा हुर्किएको, तनहुँकै पानी पिएको, तनहुँकै जनताका लागि सोचेको, हामीहरूजस्ता थुप्रै विद्यार्थीलाई नेतृत्व गर्न सिकाएको एउटा व्यक्ति गोविन्द भट्टराई संसदमा उभिन्छु भनेर आउँदै गर्दा तपाईंले त्यो जिम्मेवारी दिनुपर्छ’, थापाले भनेका छन् ।

‘तपाईंले भन्नुपर्छ– यहाँ घुम्दैघुम्दै आएका टुरिष्ट उम्मेदवारलाई योपटक तनहुँको निर्वाचन क्षेत्र, यो अरू ठाउँजस्तो होइन । यहाँको नेपाली कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो उसले बजाउँदै हिँड्ने ! यहाँको कांग्रेसको साथीले बताउनुपर्छ, दु:ख छ, संघर्ष छ । पार्टीभित्र हामी पनि दु:ख गरिरहेका छौं । तनहुँको साथीहरूलाई जति अरू कसलाई थाहा होला । तर पनि कतिपय कुरा पाएका छैनौं । कति पुराना र कति नयाँ नेता हुनुहुन्छ । हामी संघर्षबाट खारिएर आउँछौं, कांग्रेसलाई पनि बदल्छौं, बदलेको कांग्रेसबाट नेपाललाई पनि बदल्छौं भन्ने संकल्प छ’, उनले भनेका छन् ।

उनले भने, ‘म नेपाली कांग्रेसको महामन्त्री भएर होइन, सांसद भएर होइन, भाइ–छोरा–दाइ–साथी भएर अनुरोध गर्दैछु– उपनिर्वाचनमा गोविन्द भट्टराईलाई सहयोग गर्नुस् । हाम्रो जीवन पनि २०/२५ वर्ष यही पार्टीमा बितेको छ, आन्दोलनमा बितेको छ । हामी हाम्रो जीवनलाई सार्थक बनाउन चाहन्छौं । हामी हाम्रा छोरीहरूले यति भनिदिऊन् भन्ने चाहन्छौं– हाम्रा हजुरबुवाहरूको संघर्षले हामी यति स्वतन्त्र भयौं । स्वतन्त्रता र सम्पन्नताले योभन्दा अघि यात्रा म बढाउँछु भन्ने अवस्था आओस् ।’

‘हामी व्यक्तिगत कुरा छाडेर लडिरहेका छौं । तर भागेको छैन, थाकेको छैन । लड्छौं र बदल्छौं । यसका लागि संसद, पार्टी र आन्दोलनमा गोविन्द भट्टराईजस्ता साथी हामीलाई चाहिएको छ । त्यसका निम्ति पनि यहाँका साथीहरूले ख्याल राख्नुहुनेछ । अब प्रत्येक समितिका साथीहरू कोही कतै अलमल नगरी चुनावमा लाग्नुहोस् । यसअघि २०७९, २०७४ मा पार्टी छाड्नुभएको आदरणीय नेता गोविन्दराज जोशीलगायत सबैलाई महामन्त्रीका तर्फबाट अनुरोध गर्छु– सभापतिले पनि कुरा गरिराख्नुभएको छ, हामी हाम्रो घरभित्रका सबै नेतालाई एकजुट बनाएर कांग्रेसलाई सुदृढ बनाउँदै एकढिक्का बनाएर कांग्रेसलाई अघि बढाउँछौं’, थापाले भनेका छन् ।

उनले भने, ‘यही जोश, विश्वासका साथमा वैशाख १० को उपनिर्वाचनमा गोविन्द भट्टराईलाई जिताउनुहुन्छ भन्ने विश्वास छ । जसरी तपाईंले गत मंसिरको चुनावमा निर्वाचित गराएर पठाउनुभएको रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएर कांग्रेस र गठबन्धन दलले तपाईंको मतलाई सम्मान गर्‍यौं, पौडेललाई राष्ट्रपति बनाउने हाम्रो निर्णयलाई धन्यवाद भन्नका लागि पनि वैशाख १० गते सानदार मतले गोविन्द भट्टराईलाई जिताउनुहुन्छ भन्ने विश्वास छ ।’

Published : Monday, 2023 April 3, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया