कांग्रेसले कारबाही फुकुवा गरेपछि गोविन्दराज जोशीले के भने ?

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीको अनुशासनको कारबाही फिर्ता लिएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनीसहित २०७९ को चुनावअघि कारबाहीमा परेका सबैलाई पार्टीमा फर्कन सक्ने बाटो खोलेको छ । उनले कांग्रेसले जालझेलको भाषा बोलेको आरोप लगाएका छन् । जोशीले कांग्रेस सुध्रियोस भनेर अभियान चलाएको बताएका छन् ।

नेता जोशीले भने आफूसँग कुनै परामर्श नगरी गरिएको निर्णय मान्य नहुने बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता जोशीले कांग्रेसले गरेको भनिएको निर्णय मान्न आफू तयार नरहेको बताएका छन् ।

‘नेपाली कांग्रेसले म र मसँग सम्बन्धित मान्छेसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन’, जोशीले भनेका छन् ।

‘चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट बिचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु’, उनले भनेका छन् ।

जोशीले २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका जोशीले उम्मेदवारी दिएको भन्दै पौडेलले निर्वाचन आयोगमा उजुरी दिएपछि जोशीको उम्मेदवारी खारेज भएको थियो ।

पौडेललाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले २०७५ साल पुस २४ गते जोशीमाथि अनुशासनको कारबाही गरेको थियो ।

वैशाख १० गते हुने उप–निर्वाचनमा जोशीले कांग्रेसका नेता गोविन्द भट्टराईलाई असहयोग गर्न सक्ने भएपछि पार्टीले निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । जोशी समूह यसपटक उम्मेदवारी नदिने र तत्काललाई तटस्थ बस्ने योजनामा छ ।

आइतबार दमौलीमा भएको भेलाले तनहुँ–१ मा हुने उप–निर्वाचनमा कोही उम्मेदवार नबन्ने निर्णय गरेको हो । जोशीले तत्काललाई तटस्थ बस्ने बताएका छन् । जोशीको पक्षमा ५ देखि ७ हजार मत रहेको अनुमान छ ।

जोशीले ४ मंसिरको निर्वाचनमा ६ हजार ८८६ मत ल्याएका थिए । तनहुँमा जोशी समूहको मतले निर्णायक भूमिका खेल्न सक्छ ।

Published : Sunday, 2023 April 2, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया