गगन-शेखरले मन्त्री खोजेर बहिस्कार गरेकै बेला देउवाले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समग्र राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

शनिबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर आइतबार चैत १९ गतेका लागि बैठक बोलाएका हुन् ।

कार्यसम्पादन समितिको बैठक चैत १९ गते आइतबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले बताएका छन् ।

कांग्रेस शुक्रबार सरकारमा सहभागी भएको छ । कांग्रेसका ४ मन्त्री सरकारमा छन् । बाँकी ४ मन्त्री बन्ने तयारीमा छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला समूहले भनेको ३ मन्त्रालय नपाएपछि बहिस्कार गरेको छ ।

महामन्त्री थापाले अर्थ मन्त्रालय ताकेका थिए । अर्थ नपाएपछि स्वास्थ्य वा परराष्ट्रमन्त्री बन्ने तयारीमा महामन्त्री थापा छन् ।

राष्ट्रपति निर्वाचनमा एक देखिएको कांग्रेस मन्त्री बन्न नेताहरूले बहिस्कारसम्मका हर्कत गरेपछि सभापति देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

Published : Saturday, 2023 April 1, 9:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया