सीआईबीद्वारा नुवाकोटका तारालाललाई सुन्धाराबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ४३ वर्षीय तारालाल विश्वकर्मालाई पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोटको मेघाङ गाउँपालिका–५ टक्सार ठेगाना भएका विश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्वकर्मालाई उच्च अदालत पाटनको २०७७ माघ ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र ४० लाख रूपियाँ जरिवाना ठहर भएको थियो ।

फैसलापछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

उता, धादिङमा ४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गजुरी गाउँपालिका–२ चाम्बास ठेगाना भएका २१ वर्षीय आईमान तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2023 March 28, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया