काठमाडौंमा सवारी साधनहरूको विशेष चेकिङ, २६ जनालाई कारबाही
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले दुई दर्जन चालकहरूलाई कारबाही गरेको छ ।
काठमाडौंको कीर्तिपुरमा बुधबार गरिएको विशेष चेकिङ्गका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २६ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको विज्ञप्तिमा उल्लेख छ ।
कारबाहीका क्रममा १ सय १५ भन्दा बढी सवारी साधन चेक गरिएको छ । ती सवारी साधनमा ह्याण्डब्रेक ठीक नभएका १९ वटा र लाईटहरू दुरुस्त नभएका ७ वटा गरी २६ वटा सवारी साधन फेला परेका थिए ।
ट्राफिक प्रहरीले ती सवारी साधनका चालकहरूलाई कारवाही गरेको जनाएको छ । सवारी साधनमर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइनेछ ।
अवस्था ठीक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमाण्डमा ट्राफिक प्रहरीको टोली कीर्तिपुर क्षेत्रमा खटिएको थियो ।
नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन संचालन गर्नु हुन सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया