एआईजी ज्ञवालीको विवादबारे गृहले ‘दुधको दुध पानीको पानी’ गरिदियो

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना मिति र जन्ममितिलाई लिएर विवाद गर्न खोजे पनि गृह मन्त्रालयले ‘दुधको दुध पानीको पानी’ गरिदिएको छ ।

नयाँ आईजीपी नियुक्ति हुन केही घण्टा बाँकी रहेका बेला ज्ञवालीविरुद्ध हुँदै नभएका फण्डा गरेर विवादमा ल्याउने प्रयास गरिएको थियो । गृह मन्त्रालयले एआईजी ज्ञवालीका विषयमा बाहिर आएका हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ ।

आईजीपी नियुक्तिका बेला प्रत्येक पटक हुँदै नभएका विवादलाई बाहिर ल्याएर आफ्नो दुनो सोझ्याउने प्रयास हुँदै आएका छन् ।

आईजीपीको दौडमा एआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् ।

एआईजी दीपक थापा सबैभन्दा धेरै आईजीपी बन्न रहर गरेका छन् । थापाले आफ्ना प्रतिस्पर्धीहरूविरुद्ध समाचार लेखाउने, गोप्य दस्ताबेज आईजीपीको सचिवालयबाट बाहिर सार्वजनिक गर्ने, पैसाको खोलो बगाउने जस्ता कार्य गरेको आरोप छ । समाचार लेखाउनकै लागि थापाले केसम्म गरेका छन् ? धेरैले राम्रोसँग बुझेका छन् ।

किन भने एआईजी थापा बाहेक अरु एआईजीहरू मिडियामा समाचार लेखाउन रुचाउँदैनन् । उनीहरू अहिलेसम्म मिडियाका कारण चर्चित भएकै होइनन् । बरु थापा कार्यक्षमता र आफ्नो कामलाई भन्दा पनि मिडियाबाजी गरेर रमाउने स्वभावका हुन् ।गृह मन्त्रालय निकट उच्च एक कर्मचारीले प्रहरी महानिरीक्षकका लागि अन्य एआईजी सरह ज्ञवालीपनि योग्य रहेको उल्लेख गरेका छन् ।

नागरिकता र शैक्षिक प्रमाण–पत्रमा फरक जन्ममिति रहेको र सेवा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

उजुरी सम्बन्धमा छानविन गरेको गृहले प्रहरी नियमावलीको तत्कालीन व्यबस्था अनुसार नै ज्ञवाली भर्ना भएको देखिएको निश्कर्ष निकालेको छ । भर्ना हुँदाको समयमा अर्कै व्यबस्था रहेकोमा अहिलेको नियमावलीसँग तुलना गर्नु तर्कसंगक नहुने गृहका ती अधिकारीले उल्लेख गरेका छन् ।

महानिरिक्षक धिरजप्रताप सिंह लगायत एआईजीहरू अनिर्वाय अवकासमा जान लागेका छन् ।

एआइजी ज्ञवालीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक–फरक छ । शैक्षिक प्रमाणपत्रमा ज्ञवालीको जन्ममिति २०२५ भदौ २६ गते छ । नागरिकतामा उनको जन्ममिति २०२४ चैत २१ देखिएको छ ।

ज्ञवालीले २०५० साल पुष ९ गते भर्नाका लागि खुलाएको विज्ञापनमा आवेदन दिएर भर्ना भएका थिए । २५ वर्ष नाघेपछि भर्ना हुन नमिल्ने भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

प्रहरी नियमावली २०७१ ले प्रहरी निरीक्षकमा भर्ना हुने योग्यताअनुसार उमेरको विवरणमा दरखास्त फारम दर्ता हुने अन्तिम मितिसम्मा २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको उल्लेख गरेको छ ।

अहिलेको नियमावलीलाई आधार मानेर हेर्दा मात्रै ज्ञवाली अयोग्य ठहरिन्छन् । प्रहरी निरीक्षकमा भर्ना हुँदा कायम रहेको नियमावली अनुसार ज्ञवालीको भर्नामा कुनै त्रुटि देखिदैन ।

प्रहरी नियमावली २०४९ को दफा १३ मा प्रहरी निरीक्षकमा भर्ना हुन चाहिने योग्यताका बारेमा उल्लेख गरिएको छ । प्रहरी नियमावली २०४९ को दफा १३ (क)मा ‘छनौट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष उमेर ननाघेको’ हुनुपर्ने लेखिएको छ ।

२०७१ सालको संशोधनमा ‘दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको नेपाली नागरिक’ भनेर बनाइएइको छ । २०४९ को नियमावलीमा प्रष्ट रुपमा भर्ना हुने सालको वैशाखको १ गतेलाई आधार मानिएको छ ।

ज्ञवालीले २०५० मंसिरमा प्रहरी निरीक्षकमा दरखास्त दिए पनि उमेरको हिसाब भने २०५० वैशाख १ गते २५ वर्ष ननाघेको हुनुपर्ने हुन्छ ।

सो नियमावलीअनुसार वैशाख १ गते ज्ञवालीको उमेर २४ वर्ष ५ महिना हुन्छ । प्रहरी नियमावली २०४९ अनुसार उनको नियुक्ति प्रक्रियामा त्रुटि औल्याउन नमिल्ने कानून व्यवसायीहरूले बताएका छन् ।

Published : Thursday, 2023 March 23, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया