सभापति देउवाको निर्देशनपछि महामन्त्री थापाले राखे प्रस्ताव, सबै सर्वसम्मत पारित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्णयार्थ बैठकमा प्रस्तुत गरिएका प्रस्तावहरू पारित भएका छन् ।

बुधबार ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाको निर्देशनमा महामन्त्री थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए ।

कांग्रेसले फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित भएकोमा नेपाली कांग्रेसका तत्कालीन नेता, केन्द्रीय कार्यसमितिका तत्कालीन सदस्य

रामचन्द्र पौडेललाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हार्दिक वधाई प्रकट गरेको छ ।

कांग्रेसले भनेको छ, ‘छ दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा आवद्ध रही राष्ट्रियता, लोकतन्त्र र जनहितका पक्षमा निरन्तर उहाँले पु¥याउनु भएको अतुलनीय योगदानको उच्च सम्मान र कदर गर्दै, राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सफलता प्राप्तिका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक शुभकामना व्यक्त गर्दछ ।’

‘राष्ट्रपति पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका तत्कालीन नेता एवं केन्द्रीय कार्यसमितिका तत्कालीन सदस्य रामचन्द्र पौडेललाई सहयोग र समर्थन गर्ने राजनीतिक दलहरू एवं आफ्नो अमुल्य मत दिनु भई निर्वाचित गराउनु हुने संघीय संसद र प्रदेश सभाका सम्पूर्ण सदस्यहरूप्रति केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रपति पदको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग नेपाल, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी लगायत सम्पूर्ण संचारकर्मी लगायत सम्बन्ध सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछ’, प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।
‘२०८० वैशाख १० गते हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ लगायत उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधि सभा सदस्य पदको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) (ग) बमोजिमको प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देश गर्ने निर्णय भएको छ’, प्रवक्ता डा.महतले भनेका छन् ।

‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व जिल्ला सभापति एवं प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा रामबहादुर ठकुरीको फागुन ९ गते; चितवन क्षेत्र नं. १ का नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कमलादेवी श्रेष्ठको फागुन २५ गते; नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका मुख्य सचिव एवं नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्व सदस्य राजु नेपालको आमा पूर्णकुमारी नेपालको फागुन १० गते; गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालको पिता लोकराज बरालको फागुन २६ गते; कास्कीका क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, पूर्व जिल्ला सदस्य विष्णुप्रसाद पौडेल, डिल्लीरमण पौडेल र चन्द्रप्रसाद पौडेलका माता भागीरथी पौडेलको फागुन २० गते; नेपाली कांग्रेस धादिङ क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि एवं नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सदस्य श्याम लामाको आमा धनलक्ष्मी तामाङको फागुन ११ गते, परराष्ट्रविद् अरुण सुवेदीका पिता टीकाप्रसाद सुवेदीको फागुन १ गते, धनुषा जिल्ला जनकपुर उप–महानगरपालिका वडा नं. ७ निवासी रामएकवाल साह; स्याङ्जा जिल्ला पुतलीबजार न.पा. निवासी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि सुनिल अर्यालको निधनप्रति कार्यसम्पादन समितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, विज्ञप्तिमा कांग्रेसले भनेको छ ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँहरूले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै आत्माको चिर शान्तिको कामना साथ एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ’, कांग्रेसले भनेको छ ।

Published : Thursday, 2023 March 16, 12:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया