शपथ लिनुभन्दा ३० घण्टा अगाडि पौडेलले लिएको निर्णयबाट कांग्रेसका कार्यकर्ताहरू चकित

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको साधारण सदस्यसहित सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति पदमा निर्वाचित भएका पौडेलले पदबाट दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली कांग्रेसका नेता, केन्द्रीय कार्यसमितिका सदस्य रामचन्द्र पौडेल २०७९ फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकोे राष्ट्रपति पदमा निर्वाचित हुनु भएपछि नेपाली कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट अलग हुनुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘उहाँले आज दिनुभएको राजीनामा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागु हुने गरी स्वीकृत गर्नुभएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसमा लामो समयसम्म आवद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी संगठनमा उहाँले पुर्‍याउनु भएको अतुलनीय योगदानको उच्च सम्मान र कदर गर्दै सभापति देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुनु हुनेछ र उहाँको कार्यकाल सदैब स्मरणीय रहनेछ भन्ने विश्वासका साथ सभापति देउवाले राष्ट्रपतिलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।’

पौडेलले सोमबार दिउँसो १ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिन लागेका छन् । शपथ लिनुभन्दा ३० घण्टा अगाडि पौडेलले कांग्रेस पार्टीबाट आफूलाई अलग गराएका छन् ।

Published : Sunday, 2023 March 12, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया