राष्ट्रपतिमा निर्वाचित भएको केही घण्टामै पौडेलले दिए सबैलाई धन्यावाद

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफूलाई मतदान गरेर विजयी बनाउने सांसदहरूसहित सबैलाई धन्यावाद दिएका छन् ।

बिहीबार राति विज्ञप्ति जारी गरेर पौडेलले भनेका छन्, ‘मलाई साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्ने र सहयोग गर्ने गठबन्धन दलहरू एवम् मतदान गर्नु हुने सबै मतदाताहरूप्रति हृदयतः आभार व्यक्त गर्दछु ।’

उनले भनेका छन्, ‘मित्रवत प्रतिस्पर्धामा रहनुभएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, उहाँको दल तथा मतदातालाई पनि हार्दिक सम्मान गर्न चाहन्छु ।’

‘मलाई प्रतिनिधि सभा र संविधान सभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिनुभएकामा तनहुँ जिल्लावासी तथा मतदाताहरूलाई पनि हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु’, पौडेलले भनेका छन् ।

‘राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रहि निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु’, पौडेलले भनेका छन्, ‘नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरो मार्गनिर्देशक सिद्धान्त रहनेछन् ।’

पौडेलले भनेका छन्, ‘राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरि दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु ।’

राष्ट्रपति पदमा निर्वाचित भएको केही घण्टामै पौडेलले विज्ञप्ति जारी गरेर धन्यावाद दिँदै आभार प्रकट गरेका छन् ।

Published : Thursday, 2023 March 9, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया