राष्ट्रपतिमा पौडेलले एमालेलाई शानदार रुपमा हराइदिए, आजैदेखि उच्च सुरक्षा प्रदान
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा अत्याधिक मतसहित निर्वाचित भएका छन् ।
बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसदमा भएको निर्वाचनमा पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । पौडेल नेपालको तेस्रो राष्ट्रपति बनेका छन् ।
पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका छन् । पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका छन् ।
पौडेलले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाएका छन् ।
एमालेका राष्ट्रपतिका उम्मेदवार नराम्रोसँग पराजित भएका छन् । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाएर पराजित भएका हुन् ।
नेम्वाङले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालयले जनाएको छ ।
संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।
संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् ।
नेपाली कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।
कांग्रेसबाट निर्वाचित भई निलम्बनमा परेका टेकबहादुर गुरुङले मतदान गर्न पाएनन् ।
मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् ।
प्रदेश सभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरेका छन् ।
राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् ।
राष्ट्रपति निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।
राष्ट्रपतिमा निर्वाचित हुनेवित्तिकै कांग्रेस नेता पौडेल नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका छन् । उनलाई अहिले केही समयपछि राष्ट्रपतिमा निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिनेछ ।
पौडेललाई आजैदेखि उच्च सुरक्षा प्रदान गरिनेछ । प्रधानन्यायाधीशसँग शपथ लिएपछि पौडेलले फागुन २९ गतेदेखि राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया