रास्वपाद्वारा पौडेललाई समर्थनको संकेत, सरकारमा पनि सहभागी हुन सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने संकेत गरेको छ ।

९ दलीय गठबन्धनको तर्फबाट पौडेल राष्ट्रपतिका उम्मेदावर हुन् । अहिलेसम्मको समीकरण हेर्दा कांग्रेसका वरिष्ठ नेता पौडेल निर्वाचित हुने सम्भावना निकै धेरै छ ।

रास्वपाले निर्वाचनमा कुन उम्मेदवारलाई मतदान गर्ने भन्नेबारेमा औपचारिक तथा आधिकारिक निर्णय गरिसकेको छैन । अहिले केही समयपछि बस्ने बैठकले राष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्नेबारेमा निर्णय गर्नेछ ।

रास्वपाका नेता तथा सांसद मनीष झाले कांग्रेसका वष्ठि नेता पौडेललाई राष्ट्रपतिमा समर्थन गर्न सकिने संकेत गरेका छन् ।

झाले भने, ‘एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले संसद विघटन गर्दा पूर्व सभामुखको रुपमा सुवासचन्द्र नेम्वाङसँग जुनअपेक्षा गरिएको थियो, त्यो भूमिका निर्वाह गर्न नसकेकाले राष्ट्रपति हुँदा पनि नेम्वाङले अपेक्षित भूमिका निर्वाह गर्न सक्नुहुन्छ भन्ने आधार देखिएको छैन ।’

रास्वपाका नेता झाले आफ्नो पार्टी राप्रपाले जस्तो मतदान नगर्ने निर्णय नगर्ने बताएका छन् । उनले मतदान गर्नु मतदाताको अधिकार र दायित्व दुवै भएको बताएका छन् ।

झाले रास्वपा नयाँ गठवन्धनसँगै रहने संकेत पनि गरेका छन् । उनले आगामी सरकारमा रास्वपा जान सक्ने संकेत पनि गरेका छन् । सरकारमा सहभागी हुन वार्ताहरू भइरहेको बताएका छन् ।

यसअघि रास्वपाले एमालेतिर झुकाव राखेको थियो ।

‘नयाँ गठवन्धनमा पनि रास्वपा तेस्रो ठूलो शक्ति हुने भएकाले हामी सरकारमा जाने संभावना पनि छ’, रास्वपाका नेता झाले भने, ‘कुराकानी भइरहेको छ । आधिकारिक र औपचारिक निर्णय भने हुन बाँकी छ ।’

अहिलेको ९ दलीय गठबन्धन पहिलेको भन्दा धेरै लचक रहेको उनले बताएका छन् ।

उनले भने, ‘सहकार्यका लागि भागवण्डा मात्रै सबै कुरा हैन, अस्तित्वको स्वीकार्यताले पनि उत्तिकै अर्थ राख्छ, एमाले अध्यक्ष केपी ओलीभन्दा शेरबहादुर देउवा, प्राइमिनिस्टर प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहअस्तित्व सहजै स्वीकार्ने भएकाले उहाँहरूसँगको गठबन्धन सहज हुन सक्छ ।’

Published : Thursday, 2023 March 9, 9:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया