मुस्ताङ प्रकरणमा ओलीको ‘ढोक्सा’मा फस्यो एमाले, यस्तो छ कम्युनिस्टको कालोकर्तुत

काठमाडौं । मुस्ताङको संवेदनशील फलेक क्षेत्रमा बौद्ध कलेज स्थापनाका लागि आर्थिक सहयोग गर्न आग्रह गर्दै एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षले नै भारतीय दूतावासमा पत्राचार गरेको खुलासा भएको छ ।

एमालेबाट निर्वाचित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले मुस्ताङ शाक्य बुद्धिष्ट एसोसिएसनले बौद्ध शाक्य कलेज स्थापना गर्न आर्थिक सहयोग खोजिरहेको भन्दै त्यस्तो संस्था स्थापनाका लागि आर्थिक सहयोग गर्न करिब साढे तीन महिनाअघि काठमाडौंस्थित भारतीय दूतावासमा आग्रह गरेका हुन् ।

‘मुस्ताङ र छिमेकी जिल्ला डोल्पा, मनाङ तथा स्थानीय र विदेशी विद्यार्थीको हितका लागि यो ऐतिहासिक परियोजना सम्पन्न गर्न आर्थिक सहयोगका लागि म तपाईंको सरकारसँग विनम्र आग्रह गर्दछु’, अध्यक्ष रिङजीन नामगेल गुरुङले भारतीय दूतावासका डेपुटी सेक्रेटरी करुन बंसललाई सम्बोधन गर्दै २२ नोभेम्बर २०२२ मा पठाएको पत्रमा भनिएको छ ।

मुस्ताङको फलेकमा बौद्ध कलेज स्थापनाको लागि ७० करोड ३३ लाख रुपियाँ अनुदान स्वीकृति माग गर्दै भारतीय दूतावासले पठाएको पत्रमाथि अर्थमन्त्रालयले अध्ययन गरिरहेको छ ।

अध्यक्ष गुरुङले आइतबार भारतीय दूतावासमा सहयोगको आग्रह गर्दै आफूले पत्र पठाएको स्वीकार गरेका छन् ।

एमाले अध्यक्ष खड्गप्रसाद ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमाथि मुस्ताङका विषयमा विभिन्न आरोप लगाएका थिए । ओलीले भारत र चीनसँगको नेपालको कुटनीतिक सम्बन्ध विग्रिने गरेर सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए । आखिर ओलीकै पार्टी एमालेबाट निर्वाचित गाउँपालिकाका अध्यक्षले भारतीय राजदूतावासलाई सिधै पत्र पठाएको खुलासा भएको छ ।

अध्यक्ष रिङजीनले भारतीय दूतावासमा पठाएको पत्रमा ६ मंसिर अर्थात् २२ नोभेम्बर उल्लेख छ । एमाले समेतको समर्थनमा पुस १० गते मात्र माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष मात्रै होइन उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ छिन् । भारतको सहयोगमा बौद्ध कलेज स्थापना गर्न लागिएको ५ नम्बर वडाका अध्यक्ष सुरेन्द्र गुरुङ पनि एमालेबाटै निर्वाचित भएका हुन् ।

मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारत अग्रसर भएको रिपोर्ट कान्तिपुरमा बिहीबार (१८ फागुन) प्रकाशित भएपछि एमाले अध्यक्ष ओलीले शनिबार दाहाल नेतृत्वको सरकारले चीनविरुद्ध गतिविधि बढाउन भारतलाई मुस्ताङमा कलेज स्थापना गर्ने अनुमति दिएको गम्भीर आरोप लगाएका थिए ।

२०३१ सालमा तिब्बती विद्रोही वाङ्दीले मुस्ताङबाट चीनविरुद्ध विद्रोह अगाडि बढाएका थिए । सीआईएको हतियारले चीनसँग लडेका वाङ्दी भारत भाग्दै गर्दा नेपाली सेनाबाट मारिए ।

ओलीले विश्वविद्यालयको नाममा मुस्ताङलाई विदेशीहरूको खेल मैदान बनाउन खाजिएको आरोप लगाउँदै भने, ‘यो बहुतै खतरनाक कुरा हो ।’

दुई महिनाभित्रै सत्ताबाट बाहिरिन परेपछि ओली तनाबमा छन् । उनले नेपालको आन्तरिक राजनीतिमा भारतलाई मुच्छ खोजेका छन् । भारतलाई दोष देखाएर ओलीले कथित राष्ट्रवादी चरित्र देखाउन खोजेका छन् । उनको कथित कालोकर्तुतहरू एकपछि अर्को गरेर बाहिरिन थालेका छन् । मुस्ताङ प्रकरणमा पनि एमाले र ओली नाङ्गेझार बनेका छन् ।

Published : Sunday, 2023 March 5, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया