रामचन्द्र र गठबन्धनबारे देउवा, प्रचण्डसहितका नेताहरूले के भने ? बालकोट चकित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई कुनै भूमिका नदिएको भनी विगतमा आफूमाथि लागेको आरोप हटेको बताएका छन् ।

बिहीबार काठमाडौंमा ८ दलीय गठबन्धनले संघीय सांसदका लागि राखेको अभिमुखीकरण कार्यक्रममा बोल्ने क्रममा देउवाले राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाएर न्याय गरेको बताएका हुन् ।

सभापति देउवाले भने, ‘रामचन्द्रजीलाई मैले कुनै भूमिका भन्ने लाग्दै आएको थियो होला, राष्ट्रपति बनाउँदैछौं ।’

‘लोकतन्त्र र प्रजातन्त्रका लागि उहाँले धेरै दुःख पाएको व्यक्ति हो’, देउवाले भने, ‘धेरै पहिले देखिको मेरो साथी हो ।’

सभापति देउवाले संविधान पालना गरेर यसप्रतिको आस्था जगाउने काममा भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए ।

देउवाले भने, ‘प्रचण्डजीले उहाँको क्षेत्रमा गएर प्रधानमन्त्री बनाउने भन्नुभएको थिएँ । त्यो भन्दा माथिल्लो पदमा ल्याउनुभयो ।’

देउवाले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आँट र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चौडा छाती बनाएकाले चुनावअघिको गठबन्धन ब्युँतिन सम्भव भएको बताएका छन् । देउवाले प्रधानमन्त्री प्रचण्ड र नेपालको प्रशंसा गरेका हुन् । रामचन्द्र पौडेल राष्ट्रपति हुन उपर्युक्त पात्र भएको देउवाले बताएका छन् ।

प्रशिक्षणमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पौडेल राष्ट्रपतिका लागि उपयुक्त पात्र भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पनि बताएका छन् ।

प्रचण्डले भने, ‘चुनावका बेला म रामचन्द्रजीको निर्वाचन क्षेत्रमा गएर उहाँ प्रधानमन्त्री हुने नेता हो भनेको थिएँ । उहाँ राष्ट्रपति हुनु हुने भयो ।’

दाहालले भने, ‘उहाँले संविधानको रक्षा गर्न सक्नुहुन्छ ।’ प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ बिकल्प खोजेको बताएका छन् ।

प्रचण्डले पुस २६ गतेको प्रतिनिधि सभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए । प्रचण्डले भने, ‘अघिल्लो पटक संविधानविपरित संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौं। संसद पुनर्स्थापना गर्न सडकसम्म गयौं । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ ।’

उनले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई ८ नभएर १० दलको समर्थन रहेको बताए । उनले भने, ‘रामचन्द्रजीले जितिसक्नुभएको छ । यो लोकतन्त्र र संविधानको हितमा छ ।’ प्रचण्डले नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा रहेको बताएका छन् ।

‘हामी अहिले पनि राजनीतिक संकट र चुनौतीकै बिचमा छौँ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा मलाई अभूतपूर्व मत प्राप्त भयो, त्यो आफैमा राष्ट्रिय सहमतिको आधार थियो । बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ । तपाई र म मिलेर नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ । तर, उहाँले मान्नुभएन । त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ ।’

प्रचण्डले भने, ‘मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो । पुस २६ गतेको संसदमा केपीजीले हिजो संसद विघटन गर्नु ठीक थियो भन्नुभयो । हामी संसद विघटनको विपक्षमा थियौँ । हामी आफैले त्यत्रो संघर्ष गरेर संसद फिर्ता ल्याएका थियौँ । तर, उहाँले ठीक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ ।’

प्रचण्डले भने, ‘संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन । हामीले सोच्न बाध्य भयौँ । त्यस्तो नयाँ परिस्थिति बन्यो । आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एकठाउँ उभिएका छौँ ।’

उनले आफूहरूसँग विगतका तीता अनुभवहरू रहेको भन्दै राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक र राष्ट्रको अभिभावक भए पनि विगतमा त्यस्तो नभएको प्रतिक्रिया दिए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, नेताहरू महन्त ठाकुर, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ, दुर्गा पौडेल, अब्दुल खान लगायतले सम्बोधन गरेका थिए ।

आठ दलको चुनावी कार्यक्रम देखेर उता एमाले तनाबमा परेको छ । एमाले एक्लिएको छ । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका कारण एक्लिने अवस्था भएको छ ।

Published : Thursday, 2023 March 2, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया