एमालेका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री न्यौपाने भ्रष्टाचारी ठहर
काठमाडौं । एमालेका पूर्व केन्द्रीय सदस्य तथा तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
मंगलबार विशेष अदालतले पूर्वमन्त्री न्यौपानेसहितका व्यक्तिलाई दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिएका छन् ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको संयुक्त इजलासले न्यौपानेसहित ९ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।
एमाले पार्टी परित्याग गरेर पूर्वमन्त्री न्यौपाने हाल प्रभु साह नेतृत्वको आम जनता पार्टीमा छन् ।
समाज कल्याण परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार यादव, तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमारलाल कर्ण र फनपार्क प्रमुख सञ्चालक रवीन्द्र गुरुङसहितका व्यक्तिलाई विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेको छ ।
तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार यादव प्रतिनिधि सभाका सांसद एवम् पूर्वमन्त्री महिन्द्र राय यादवका भाइ हुन् । महिन्द्र राय यादव मन्त्री बनेका बेला रवीन्द्र यादवले निकै चलखेल र घोटाला पनि गरेका थिए ।
मेला सञ्चालक रहेका गुरुङ र पूर्वमन्त्री न्यौपानेमाथि जनही ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो ।
उनीहरूमाथि भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको छ ।
दोषी ठहर गरिएका व्यक्तिहरूमाथि फागुन २५ गते सजाय तोकिने प्रवक्ता योगीले बताएका छन् ।
भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री न्यौपानेले क्यानडाको ग्रिनकार्ड लिएको स्रोतको दाबी छ । न्यौपानेले आफ्ना परिवार सबैलाई क्यानडा लगेर ग्रिनकार्ड दिलाएका छन् ।
ग्रिनकार्ड लिने बेला पूर्वमन्त्री न्यौपानेले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ललितपुरबाट क्रियाशील सदस्यताको कीर्ते कागजपत्र बनाएको आरोप पनि छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया