मन्त्री फाल्न महानिर्देशकको चलखेल, मन्त्रीलाई तल्लोस्तरको शब्दबाट गालीगलौज
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हटाउन विभिन्न दलका उच्च नेताहरूसँगको सम्पर्कमा पुगेका छन् ।
महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई हटाएर नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आलेलाई मन्त्री बनाएर ल्याउन लबिङ गरेको उच्च स्रोतले जनाएको छ ।
प्राधिकरणका एक कर्मचारीका अनुसार महानिर्देशक अधिकारीले किराँतीलाई हटाएर तत्कालीन मन्त्री आलेलाई मन्त्री बनाएर ल्याउन लबिङमा लागेका छन् ।
राष्ट्रपतिको निर्वाचनपछि मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ । त्यस बेला आलेलाई मन्त्री बनाउन सबै प्रकारका गतिविधि र सहयोग गर्ने तयारीमा अधिकारी लागेको स्रोतको भनाइ छ ।
रिपब्लिका दैनिकलाई प्राप्त अञ्जान मेलका अनुसार महानिर्देशक अधिकारीले तत्कालीन मन्त्री आलेको नाम ‘सुँगुर’ राखिदिएका थिए ।
‘सुँगुर’लाई दाना दिनुछ भनेर अधिकारीले क्षेत्रीय विमानस्थलका प्रमुखहरूसँग रकम उठाउने गरेको आरोप पनि लागेको छ ।
प्राधिकरणका महानिर्देशक अधिकारीको कर्तुतका बारेमा मन्त्री किराँतीलाई जानकारी छ । मन्त्रालय र प्राधिकरणका कर्मचारीहरूले महानिर्देशक अधिकारीको ज्यादती र हर्कतका विषयमा मन्त्रीलाई जानकारी गराएका छन् । किराँतीले अधिकारीलाई आफ्नो नजिक आउन दिएका छैनन् ।
छेउमा जान नसकेपछि मन्त्री किराँतीलाई महानिर्देशक अधिकारीले प्रभावमा पार्न सकेका छैनन् । मन्त्री किराँती कुनै पनि प्रलोभनमा नपरेर काम गरेपछि महानिर्देशक अधिकारी तनाबमा छन् ।
मन्त्री किराँतीद्वारा सोमबार गरिएको पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारी टाढा बसेका छन् । महानिर्देशक अधिकारी तत्कालीन मन्त्री प्रेम आलेको छेउमा बसेर पत्रकार सम्मेलनमा सहभागी हुने गरेका थिए । तत्कालीन मन्त्री आलेलाई मोटो आर्थिक प्रभावमा पारेर अधिकारीले महानिर्देशक पद पाएको आरोप बारम्बार लाग्दै आएको छ ।
पत्रकार सम्मेलन सक्किएपछि पर्यटन मन्त्रालयका एक जना सह–सचिवले ‘मन्त्रीज्यूले आज त सबैलाई डोज दिनुभयो’ भनेपछि महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई सानो स्वरमा ‘र…को छोरो’ भनेको रिपब्लिका दैनिकलाई प्राप्त बेनामे मेलमा उल्लेख छ । महानिर्देशक अधिकारीले अधिकांशलाई तल्लोस्तरको शब्द बोलेर गालीगलौज गर्ने गरेको आरोप प्राधिकरणका कर्मचारीहरूले लगाउने गरेका छन् ।
अहिलेका मन्त्री किराँतीले अधिकारीलाई आफ्नो छेउमा पनि पर्न दिएका छैनन् । मन्त्री किराँतीलाई महानिर्देशक अधिकारीले यती एयरलाइन्सको प्रचार गराएको भनेर मन्त्री किराँती रिसाएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको एटीआर जहाज दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो । त्यही यती एयरको दुर्घटनामा परेको जहाजको रिपोर्ट नआउँदै महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई यती एयरको जहाजमा चढाएर काठमाडौंबाट विराटनगर लगेका थिए । मन्त्री किराँती यती एयरको जहाजमा चढेको तस्वीर खिचेर अधिकारीले प्राधिकरणको आधिकारिक ट्वीटरमा राखेका थिए ।
आरोपहरूका बारेमा महानिर्देशक अधिकारीसँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया