रामचन्द्र पौडेलद्वारा उम्मेदवारी दर्ता, ८ दलका शीर्ष नेताहरू नै प्रस्तावक र समर्थक

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

पौडेलको प्रस्तावकमा कांग्रेसका सभापति तथा सांसद शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा सांसद माधवकुमार नेपाल, माओवादी केन्द्रका उपाध्यक्ष तथा सांसद नारायणकाजी श्रेष्ठ, नेपाल समाजवादी पार्टीका नेता तथा सांसद अशोककुमार राई र जनमत पार्टीका सांसद अब्दुल खान रहेका छन् ।

पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा सांसद महन्थ ठाकुर, कांग्रेसका उप–सभापति तथा सांसद पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसी र माओवादी केन्द्रका सांसद हितराज पाण्डे रहेका छन् ।

पौडेल पूर्वसभामुख, गृहमन्त्री र उप–प्रधानमन्त्री भइसकेका छन् ।

पौडेल मंसिर ४ मा तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभाको सांसद पदमा निर्वाचित भएका थिए ।

पौडेललाई माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चाले समर्थन गरेका छन् ।

Published : Saturday, 2023 February 25, 2:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया