एमाले–माओवादीबीच बबण्डर, बालकोटबाट ओलीले देखाइदिए प्रचण्ड सरकारको औकात

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख दलहरूका बीच बबण्डर भइरहेका बेला एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन् ।

बिहीबार आफ्नो जन्मदिनको अवसरमा बालकोटस्थित निवासमा आयोजित पुस्तक विमोचन कार्यक्रममा ओलीले प्रचण्ड सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा सार्वजनिक विदा दिएकोमा असन्तुष्टि जनाएका छन् । ओली फागुन १ गते हिंसा दिवस भएको बताएका छन् ।

सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको उनले बताएका छन् ।

‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय ग¥यो’, ओलीले भने, ‘त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ ।’

एमालेका अध्यक्ष ओलीले भने, ‘जुन कुरा चाहिँ सहि होइन ।’

प्रधानमन्त्री दाहालप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किनफेरि हिंसाको महिमामण्डन गर्नु प¥यो ? भनी प्रश्न समेत गरेका छन् ।

ओलीले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताएका छन् ।

‘सरकारले किन त्यो गर्‍यो ? आकास्मिक रुपमा त्यो किन गर्नुपर्‍यो ? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्‍यो ? त्यो मैले पनि बुझेको छैन’, ओलीले भनेका छन् ।

‘यसले सम्झिसम्झिकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएको जस्तो मात्रै लाग्छ मलाई’, उनले भनेका छन् ।

ओलीले नेपाल हिंसाको पक्षमा हुनै नसक्ने भन्दै नेपाली जनतामा परस्परमा लडने वा लडाउने कुरा कहिल्यै पनि स्वीकार्य हुन नसक्ने बताएका छन् ।

ओलीको यो अभिव्यक्तिले एमाले र माओवादी केन्द्रबीचको सम्बन्ध चिसो भएको संकेत गरेको छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग माओवादी केन्द्र नजिकिएपछि एमालेका अध्यक्ष ओलीले आक्रोश पोखेका हुन् ।

Published : Thursday, 2023 February 23, 4:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया