ओली र नेपालबीच गोप्य भेटवार्ता, राष्ट्रपतिमा प्रस्ताव

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर बहस र अड्कलबाजीहरू भइरहेका बेला एमालेका अध्यक्ष खड्गप्रसाद ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

महाराजगञ्जस्थित एक निवासमा ओली र नेपालबीच आइतबार साँझ भेटवार्ता भएको एमाले निकट उच्च स्रोतले जनाएको छ । भेटलाई ओली र नेपालले गोप्य राखेका छन् ।

ओली–नेपालको भेटवार्तामा एमालेका नेताहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महेश बस्नेतले पहल गरेको बताइएको छ ।

ओली र नेपालको भेटवार्ताका लागि नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेले एमालेका नेता प्रदीप ज्ञवालीसँग परामर्श गरेका छन् ।

एमाले र एकीकृत समाजवादीलाई मिलाउने गरी अध्यक्ष नेपाललाई राष्ट्रपति दिन अध्यक्ष ओली तयार रहेको स्रोतको भनाइ छ ।

ओलीले पनि नेपाललाई राष्ट्रपतिमा समर्थन गर्ने र केही समयपछि एमालेसँग नेकपा (एकीकृत समाजवादी)लाई एमालेमा बिलय गराउनेबारेमा पनि परामर्श भएको बुझिएको छ ।

एकीकृत समाजवादीका नेता मेटमिण चौधरीले ओलीको प्रस्तावमाथि विश्वास नगर्न आग्रह गरेका छन् ।

‘भ्रममा नपरौ । हिजोदेखि राष्ट्रपति विषयमा बजारमा खुबै चर्चा छ । तर, आजसम्म न कुनै आधिकारिक प्रस्ताव छ न त कुनै भेटघाट ।’

‘समय समयमा यस्ता अफवाहहरू आउँछ र समयक्रममा त्यो हराएर जान्छ’, चौधरीले भने, ‘यसैले कसैले पनि भ्रममा नपरौं । मिडियामा आएको कुनै पनि समाचारमा आधिकारिकता छैन ।’

Published : Tuesday, 2023 February 21, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया