कांग्रेसलाई समर्थन गर्ने चर्चा भएकै बेला प्रचण्ड भेट्न ओली बालुवाटार छिरे

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले भेट गरेका छन् ।

दाहाललाई भेट्न ओली बिहीबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । ओलीले दाहाललाई राष्ट्रपति निर्वाचनमा भएको सहमति कार्यान्वयनमा दवाव दिएको बुझिएको छ ।

सरकार ढल्ने चर्चा र राष्ट्रपतिका विषयमा विभिन्न अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्री दाहालसँग ओलीले भेट गरेका छन् ।

दाहालले राष्ट्रपति पदमा राष्ट्रिय सहमति खोज्नुपर्ने पक्षमा देखिएका छन् । दाहालको राष्ट्रिय सहमतिको कुराले ओलीलाई तनाब बढाइदिएको छ ।

माओवादीले औपचारिक रुपमा नेपाली कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णयको तयारी भनेर सञ्चारमाध्यममा समाचार आएको अर्को दिन ओलीले दाहाललाई भेट गरेका छन् ।

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको छ । अहिलेकी राष्ट्रपति तथा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपतिको गरिमाअनुसार काम नगरेपछि कांग्रेस, माओवादीसहितका दलहरू सशंकित छन् । एमालेलाई राष्ट्रपति दिने पक्षमा कुनै पनि दल छैनन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका एमालेका अध्यक्ष ओलीले राष्ट्रपति आफू निकटको नेतालाई उम्मेदवार बनाउन खोजेका छन् । ओलीले सांसद नभएको नेतालाई राष्ट्रपति बनाउन खोजेका छन् ।

स्रोतका अनुसार ओलीले ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरूबाट उम्मेदवार बनाउन खोजेको चर्चा पनि छ ।

Published : Thursday, 2023 February 16, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया