भारतीय विदेश सचिवसँग महत्वपूर्ण सहमति, धेरै कुरा नेपालको हितमा,भारतमा ४५२.६ मेगावाट विद्युत निर्यात
काठमाडौं । नेपालका परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्रा नेपाल भ्रमणमा आएका छन् ।
दुई दिनको भ्रमणका लागि विदेश सचिव क्वात्रा सोमबार काठमाडौं आएका हुन् ।
दुई परराष्ट्र सचिवबीच बिहान सम्पन्न वार्तामा विकास साझेदारी, ऊर्जा सहकार्य, व्यापार तथा आर्थिक सहकार्य, संस्थागत सम्पर्क र जनता–जनताबीचको सम्बन्ध लगायत भारत र नेपालबीचको बहुआयामिक सहयोगका विविध पक्षबारे व्यापक छलफल भएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गतवर्ष प्रधानमन्त्रीको भ्रमणका क्रममा अन्तरदेशीय कनेक्टिभिटी, जलविद्युत सहयोग, संस्कृति, व्यापार तथा वाणिज्यलगायत विविध क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा भएको प्रगतिको पनि दुवै परराष्ट्र सचिवले समीक्षा गरेका छन् ।
रेलमार्ग कनेक्टिभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर–कुर्था–बिजलपुर–बर्दिबास र जोगबनी–विराटनगर रेल परियोजनाका बाँकी खण्डको निर्माण चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने सहमति जनाएका छन् ।
दुई पक्षबीच प्रस्तावित रक्सौल–काठमाडौं रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागतकार्यलाई दु्रतरुपमा अगाडि बढाउने सहमति भएको छ ।
दुवै पक्षले गतवर्ष ऊर्जा सहकार्यमा भएको प्रगतिको चर्चा गरेका छन् । जस अन्तर्गत नेपाल अहिले ४५२.६ मेगावाट विद्युत भारततर्फ निर्यात गर्न सक्षम भएको छ । यसले भारतलाई विजुली प्रदान गरेको छभने नेपालमा थप राजस्व स्रोतको सिर्जना गरेको छ ।
नेपालीपक्षले दीर्घकालीन रुपमा भारततर्फ विद्युत् निर्यातका लागि मार्गप्रशस्त गर्न भारतीय पक्षसँग अनुरोध गरेको छ ।
भारत र नेपालबीचको उर्जा व्यापारलाई थप सुदृढ बनाउन विनिमय बजारका सबै उत्पादनलाई उपयोग गर्न पनि नेपालीपक्षले भारतलाई अनुरोध गरेको छ ।
भारतीयपक्षले नेपाली पक्षबाट भएको दुवै अनुरोधलाई जानकारीमा राखेको छ ।
सन् २०२२ अप्रिलमा भारत र नेपालबीच भएको ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणपत्रको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै दुई देशका परराष्ट्र सचिवले उपक्षेत्रीय सन्दर्भमा पारस्परिक लाभकारी सहकार्यका लागि हातेमालो गर्ने सहमति जनाएका छन् ।
विश्वमा व्याप्त कठिनाईको समयमा नेपालमा कृषि उत्पादनको सहज आपूर्तिलाई सुनिश्चित गर्न विशेष गरी नेपालका लागि भनेर चिनी, गहुँ र धानको निर्यातमा भारतले गरेका विशेष व्यवस्थालाई नेपालीपक्षले सराहना गरेको छ ।

दुई परराष्ट्र सचिवबीच बहुपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा पनि छलफल भएको छ । यस सन्दर्भमा भारतले यो वर्षआफ्नो अध्यक्षतामा आयोजना हुने जी–२० फाइनान्स ट्रयाकमा सहभागिताका लागि नेपाललाई दिएको निमन्त्रणाको नेपालीपक्षले प्रशंसा गरेको छ ।
नेपालीपक्षले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको शीघ्र अनुमोदनका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।
क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका छन् ।
भेटका क्रममा दुवै पक्षले दुई देशबीचको विशिष्ट सम्बन्धलाई अझ सुदृढ गर्ने र दुई देशका जनताको हितका लागि बहुआयामिक विकास सहयोगलाई विस्तार गर्ने उपायहरूबारे छलफल गरेका छन् ।
परराष्ट्र सचिव क्वात्राले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र खड्गप्रसाद ओलीसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।
परराष्ट्र सचिव क्वात्राले मंगलबार नेपाल सरकारका वरिष्ठ अधिकारी र अन्य नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
जनता–जनताबीचको सम्बन्धले जोडेको भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत तथा साँस्कृतिक सम्बन्धको जगमा उभिएको निकट साझेदारी रहेको छ ।
दुई देशबीच हुँदै आएको उच्चस्तरीय भेटवार्ताको परम्परा अुनुरुप यो भ्रमण भएको हो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया